मेसीले भने : ‘बार्सिलोनामै फर्किन चाहन्छु’

रासस

सोमबार, १५ कार्तिक २०७८, १० : ०८
मेसीले भने : ‘बार्सिलोनामै फर्किन चाहन्छु’

एजेन्सी । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार लियोनल मेसीले बार्सिलोना फर्किने चाहना व्यक्त गरेका छन् । मेसीले बार्सिलोनामा दुई दशकभन्दा लामो समय बिताएका थिए ।

बार्सिलोनाबाट सबैभन्दा धेरै गोल गर्ने मेसी यसै सिजनको सुरुमा पीएसजीसँग अनुबन्ध भएका हुन् । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाले वित्तीय संकट देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न नसक्ने बताएपछि उनी पीएसजी आएका थिए ।

६ पटकको बालोन डी‘अर अवार्ड विजेता मेसीले बार्सिलोना फर्किनेबारे भने, ‘‘हो, मैले सधैँ भन्ने गरेको छु कि म बार्सिलोनामा फर्किएर जुनसुकै भूमिकामा क्लबलाई सहयोग गर्न चाहन्छु ।’’ १० ला लिगा र चार च्याम्पियन्स लिगसहित बार्सिलोनाबाट ३५ उपाधि जितिसकेका मेसीले थपे, ‘म बार्सिलोनाका लागि प्रभावकारी र सहयोगी हुन चाहन्छु । मलाई टेक्निकल सेक्रेटरी हुन मन लागेको छ । तर, मलाई थाहा छैन कि यो बार्सिलोनामै हुनेछ । म बार्सिलोनालाई माया गर्छु । त्यसकारण क्लबलाई सहयोग गर्न म बार्सिलाना फर्किन चाहन्छु ।’’

पीएसजी गएपछि मेसीले फ्रेन्च लिग वानमा अहिलेसम्म गोल गर्न सकेका छैनन् । तथापि, उनले च्याम्पियन्स लिगमा भने तीन गोल गरिसकेका छन् । मेसीले छाडेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्ष गरिरहेको छ । बार्सिलोना अहिले नवौँ स्थानमा छ । बार्सिलोनाले ११ खेलबाट १६ अंक जोडेको छ । 

प्रतिक्रिया दिनुहोस