वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता

रासस

शनिबार, १३ कार्तिक २०७८, १४ : ३८
वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता

फाइल फोटो

काठमाडौं । कोरोना महामारीको जोखिम कम भएसँगै वाग्मती सफाइ महाअभियानमा अभियानकर्मीको सहभागिता बढ्न थालेको छ ।

कोरोनाका कारण सीमित अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिइएको अभियानमा आज ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । महाअभियानको ४४२ औँ हप्तामा आज सिनामंगल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको थियो । गत हप्ता पनि यस क्षेत्रमा सफाइ गरिएको थियो ।

पशुपति क्षेत्रमुनिको नदी किनारमा आर्यघाटबाट झरेको बाँस, खटलगायत फोहोरको थुप्रो भेटिएपछि आज पनि यस क्षेत्रमा सफाइ गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा।माला खरेलले जानकारी दिइन् ।

सफाइबाट तीन गाडी फोहर व्यवस्थापन गरिएको छ । एक गाडी फोहर काठमाडौँ महानगरपालिकाको गाडीले व्यवस्थापन गरिसकेको छ । दुई गाडी फोहर भने नदी किनारमा थुपारिएको र महानगरपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको उनले बताए । सफाइमा कलाकार शिव श्रेष्ठ, समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । 

आर्यघाटबाट निस्कने फोहर व्यवस्थापनका विषयमा समितिले पशुपति क्षेत्र विकास कोषसँग पनि बैठक गरिसकेको जनाइएको छ । कोषले त्यस क्षेत्रको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । पशुपति क्षेत्रलाई स्वच्छ बनाउन कोषले पनि असोज पहिलो सातादेखि स्वच्छ पशुपति अभियान सुरु गरेको छ । 

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४११ औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको छ । ‘जिरो वेष्ट, अल दि वेस्ट’ भन्ने नाराका साथ पछिल्लो समय सफाइ अभियानलाई निरन्तरता दिइएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । यस क्षेत्रमा कुहिने फोहर खाडल खनेर गाडिन्छ । नकुहिने फोहोरमात्र यस क्षेत्रको सफाइबाट व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस