खाद्य संकट बढेपछि उत्तर कोरियाले भन्यो- थोरै खानू

एजेन्सी

शुक्रबार, १२ कार्तिक २०७८, १२ : ३७
खाद्य संकट बढेपछि उत्तर कोरियाले भन्यो- थोरै खानू

एजेन्सी । उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई थोरै खान निर्देशन दिएको छ । सन् २०२५ मा चीनसँगको सिमा नखुल्दासम्म उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई थोरै खान निर्देशन दिएको हो । 

खाद्य अभावबाट उत्तर कोरिया नराम्रोसँग प्रभावित छ । अभावका कारण पर्याप्त खान नपाउँदा केही मानिसहरु भोकमरीको चपेटामा परेका छन् । कोभिड महामारी फैलिएपछि उत्तर कोरियाले सन् २०२० को जनवरीदेखि चीनसँगको सीमा बन्द गरेको थियो । सीमा बन्दपछि देशको अर्थतन्त्रमा गम्भीर असर गरेको छ । उत्पादनभन्दा माग बढेकोले दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ । 

सन् २०२५ अगाडि चीनसँगको सीमा खुल्ने सम्भावना न्यून रहेको विज्ञहरुले बताउँदै आएका छन् । ‘उत्तर कोरियामा खाद्य सामाग्रीको चरम अभाव छ । यही बेला सरकारले हामीलाई अझै चार वर्ष थोरै खान उर्दी जारी गरेको छ ।’ सरकारी अधिकारीहरुको निर्देशनपछि निराश बनेका एक सर्वसाधरणले भने । 

समस्याका बाबजूद उत्तर कोरियाली नेता किम जोङ उनले विश्वबाट नै एक्लिँदै गएको देशलाई आत्मनिर्भर हुन जोड दिँदै आएका छन् । 

यही जुलाईमा पार्टीको केन्द्रीय कमिटीको वैठकले सर्वसाधरणलाई जमिन खाली नराख्न र उत्पादन बृद्धि गर्न आग्रह गरेको थियो ।

राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले उत्तर कोरियामा यो वर्ष ८ लाख ६० हजार टन खाद्यन्न आवश्यक रहेको जनाएको थियो । कोभिड संक्रमणले बाहिरी मुलुकबाट खाद्यन्न आयात हुन नसक्दा झनै अभाव बढेको उसले जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस