अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप आइपुग्यो, अब १८ वर्षमुनिकाले खोप पाउने

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १२ : ३८
अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप आइपुग्यो, अब १८ वर्षमुनिकाले खोप पाउने

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराएको छ । गत असारमा गरिएको १५ लाख मात्राको जोन्सन एण्ड जोन्सन खोपका अतिरिक्त अमेरिकाले अहिले फेरि फाइजरको खोप उपलब्ध गराएको हो । 

सोमबार एक विज्ञप्तिमार्फत नेपालस्थित अमेरिकाी दूतावासले खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ । महामारीको समयमा नेपाललाई जारी सहयोगको हिस्सास्वरुप अमेरिकाले खोप निःशुल्क र पूर्वशर्तबिना अनुदानमा प्रदान गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक सेपिड केभान्साबाट मन्त्रालयका सचिव डा रोशन पोखरेललाई खोप हस्तान्तरण भयो । युनिसेफमार्फत खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा पछिको समयमा बाँकी मुलुकमा खोप वितरण गर्ने बेला नभएसम्मका लागि उक्त खोप भण्डारण गरिने दूतावासले जनाएको छ ।

‘जीवन रक्षा गर्ने १ लाख ६२० मात्राको फाइजर खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउँदै कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिन पाएकोमा अमेरिकालाई खु्शी लागेको छ । यस खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना सुनिश्चित गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा हामीलाई  गर्व लागेको छ’, उनको भनाइ छ । अमेरिकाले आगामी दिनमा पनि थप मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस