हलमा पुरानै फिल्म, तर छैनन् दर्शक

बुधबार, २० मंसिर २०७४, १० : ३८
हलमा पुरानै फिल्म, तर छैनन् दर्शक

प्रत्येक हप्ता कुन फिल्म प्रदर्शन गर्ने भन्ने अन्योलमा पर्ने गरेका हल सञ्चालकहरु यस वर्षको मंसिरमा भने प्रदर्शनमा आइसकेका फिल्महरु चलाउन बाध्य भएका छन् । मंसिरमा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण कुनै पनि नाम सुनिएका फिल्म हलमा लागेका छैनन् ।
 
मंसिर १ गते प्रदर्शनमा आएको सौगात मल्ल र बेनिशा हमाल स्टारर फिल्म 'झ्यानाकुटी'बाहेक अन्य फिल्म निर्वाचनको चपेटामा पर्ने डरले हलसम्म आएनन् । 'झ्यानाकुटी'ले दर्शक रिझाउन सकेको भए मंसिर महिना नेपाली फिल्मका लागि केही फलदायी पक्कै हुने थियो तर यो पनि हुन सकेन । अहिले देशभरका सिनेमा घरहरु सुनसान देखिएका छन् । न नयाँ फिल्म छन् न त दर्शकले नै कुन फिल्म प्रदर्शनमा आएको छ भन्दै खोजिरहेका छन् ।
 
हल त्यसै बन्द गर्नुभन्दा पुरानै फिल्म प्रदर्शन गर्न बाध्य छन् हल सञ्चालकहरु । अहिले प्रायः सिंगल र मल्टिप्लेक्सहरुमा यसअघि प्रदर्शनमा आएका हिट फिल्महरु प्रदर्शन भइरहेको छ । 'प्रेमगीत २', 'ए मेरो हजुर २', 'म यस्तो गीत गाउँछु', 'किंग', 'फाटेको जुत्ता', 'छक्का पञ्जा २', 'जात्रा', 'दुई रुपैयाँ', 'मेला' लगायतका फिल्महरु रि-रिलिज भएका छन् । यतिमात्र होइन कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शनमा नआउँदा कतिपय हलहरुले भोजपुरी फिल्म समेत चलाइरहेका छन् ।
 
पुनः आफू निर्मित फिल्म हलमा लाग्दा निर्माताहरुले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेपनि हल सञ्चालक भने ३-४ जना दर्शकलाई फिल्म देखाउन बाध्य छन् । हुनत, यो मंसिर महिनामा मात्र नेपाली फिल्म खडेरी लागेको हो अब पुष लागेपछि प्रत्येक हप्ता नेपाली फिल्मको भाले जुधाई सुरु हुनेछ ।
 
मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको भोलीपल्ट फिल्म 'दिपज्योती' प्रदर्शनमा आउँदैछ भने मंसिर २९ गते 'माई लभ' र 'सुपर गोर्खे'ले भिडन्त गर्दैछन् । यस्तै, पुषको पहिलो हप्ता बलिउडस्टार सलमान खान र कैटरीना कैफ अभिनीत फिल्म 'टाइगर जिन्दा हे'ले नेपाली हलमा सोलो रिलिजको मौका पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस