बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०१ पुग्यो, ४१ जना बेपत्ता

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १७ : ४५
बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०१ पुग्यो, ४१ जना बेपत्ता

काठमाडौँ । गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो । मृतकमा  १ नम्बर प्रदेशका ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन् । 

यस्तै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । यसैगरी बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७  वटा घर परिवार विस्थापित भएका छन् । प्रहरीले प्रभावित क्षेत्रमा उद्दारको कार्य जारी रहेको पनि जनाएको छ । 

प्रतिक्रिया दिनुहोस