सुर्खेत पुगेर प्रधानमन्त्रीले भने- देशभरको बाढीपहिराेकाे अनुगमन गरेर सरकारले थप राहतको व्यवस्था गर्छ

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १२ : ०२
सुर्खेत पुगेर प्रधानमन्त्रीले भने- देशभरको बाढीपहिराेकाे अनुगमन गरेर सरकारले थप राहतको  व्यवस्था गर्छ

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताए ।

सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रमा अनुगमनका लागि हिँडेका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थल करिब आधा घन्टा बिताएका थिए । देशभर बाढीपहिरोको कारण ठूलो क्षति भएको भन्दै उनले सरकारले उचित क्षतिपूर्ति दिने घाेषणा गरे ।

प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायत विभागीय मन्त्रीहरूसँग समेत  छलफल गरेका थिए । बिहीबार बिहान ८ः२० मा उनी काठमाडौंबाट सुर्खेत आइपुगेका थिए ।

प्रधानमन्त्री कर्णाली र  सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न आएका हुन् । सुर्खेत विमानस्थलमा हेलिकप्टरले फ्युल भरेपछि उनी डोटीको दिपायल लागेका छन् । नेपाली सेनासँग बाढीपीडितको अवस्था बिफ्रिङ सुनेर उनी बझाङ थलाराको स्थलगत अवलोकन गरे । 

प्रधानमन्त्रीले बझाङ चैनपुर सैनिक ब्यारेकमा ब्रिफिङ, ढुंगाड बाढीपहिरो पीडित क्षेत्रको स्थलगत अवलोकन र डडेल्धुराको दहस्थित सैनिक ब्यारेकमा लन्च खाने कार्यक्रम छ । 

दह ब्यारेकमा खाना खाएर प्रधानमन्त्री देउवा डडेल्धुराको जोगबुढामा बाढीको स्थलगत अवलोकन गर्ने, त्यहाँबाट कन्चनपुरको महेन्द्रनगर सैनिक ब्यारेकमा पुग्ने कार्यक्रम छ । कन्चनपुरमा रहँदा ब्रहमदेव र चाँदनी दोधाराको स्थलगत अवलोकन गर्ने छन् । 

आज बेलुका उनी कैलालीको धनगढीको डिभोटीमा बास बस्ने छन् । प्रधानमन्त्री देउवा भोलि मात्र काठमाडौं फर्किने छन् । उनीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायर छन् ।

प्रतिक्रिया दिनुहोस