बेमौसमी बाढी र पहिरोले लियो ८८ जनाको ज्यान

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, ०७ : ५२
बेमौसमी बाढी र पहिरोले लियो ८८ जनाको ज्यान

काठमाडौं । मुलुकका विभिन्न भागमा गरी बाढीपहिरोबाट बुधबार साँझसम्म ८८ जनाको ज्यान गएको छ। अत्यधिक वर्षा तथा बाढीका कारण प्रदेश १ मा ५१, सुदूरपश्चिममा २६, कर्णालीमा ८, लुम्बिनीमा २ र वाग्मतीमा एकजनाको मृत्यु भएको छ। २५ जना अझै बेपत्ता छन्।

बेपत्तालाई खोज्ने, विस्थापितलाई सुरक्षित ठाउँमा सार्नेजस्ता कार्यमा स्थानीय तह तथा प्रहरी प्रशासन सक्रिय भएका छन्।मोरङस्थित हाम्रा संवाददाता चुमन बस्नेतका अनुसार पूर्वाञ्चलभरि भारी वर्षा, बाढी तथा पहिरोले ५१ जनाको ज्यान लिएको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण पाँचथरमा २२ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

पाँचथरको मिक्लाजुङ–५ स्थित चिसापानी गाउँका ११ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार इलाममा १३, धनकुटामा ७, सुनसरीमा ५, उदयपुरमा २, मोरङ र भोजपुरमा १–१ जनाको मृत्यु भएको छ।

पहिरोमा परी प्रदेश १ मा ९ जना बालबालिकाको मृत्यु भएको छ। जसमा २ बालिका र ७ बालक रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाबाट बाढी र पहिरोको थप विवरण आउने क्रम जारी रहेकाले क्षति अझ बढी हुनसक्ने प्रवक्ता राईले बताए।

प्रहरीका अनुसार प्रदेश १ मा ८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। बाढीका कारण तराईका झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन्। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट एक हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।  

इलामस्थित हाम्रा संवाददाता भीम चापागाईंका अनुसार बाढीपहिरोमा परी एकै घरका ४ सहित १३ जनाको मृत्यु भएको हो। पहिरोले पुरेर ११ जना, खोलाले बगाएर र रुखले किचेर एकएकजनाको मृत्यु भएको हो। २ जना बेपत्ता छन्। चार घाइतेको उपचार भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस