जङ्गली हात्तीको बथानले धान बालीमा नोक्सानी

रासस

सोमबार, ०१ कार्तिक २०७८, ११ : ४४
जङ्गली हात्तीको बथानले धान बालीमा नोक्सानी

कञ्चनपुर  । जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धान बालीमा नोक्सानी पु¥याएको छ। खेतबाट काटेर घरमै कुन्यु बनाएर राखेको धानबाली हात्तीको बथानले खाएर नोक्सानी गरेको हो।

चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले धान बालीमा नोक्सानी पुर्‍याएकाले किसान मर्कामा परेका छन्। ‘दश कठ्ठा जग्गामा लगाइएको धान बाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं’, स्थानीय किसान राजकुमार चौधरीले भने, ‘हात्तीका बथानले पूरै धानका बाला खाएको छ। निकै नोक्सानी भयो।’

उनका अनुसार खेतमा उत्पादन भएको धानले पूरै परिवारका लागि वर्षभर खान पुग्दथ्यो। हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ। ६ देखि ९ वटाको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धान बाली खाएर नोक्सानी पुर्‍याएको छ।

यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धान बालीसँगै मनोज बिष्टको केरा बारीमा नोक्सानी पुर्‍याएको छ। सिद्धभीम आदर्श आधारभूत विद्यालयको घेरबारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत हात्तीको बथानले नोक्सानी गरेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।

‘तरकारी बालीमा हात्तीको बथानले नोक्सानी गरेको खबर गरेका छन्’, उनले भने, ‘अनुगमन गर्नका लागि जाँदै छौँ। के कति क्षति भयो अनुगमनपछि थाहा हुन्छ।’

धान खाएपछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस