बुटवलको मोतीपुरमा गोली चल्दा तीन जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, १९ : ३०
बुटवलको मोतीपुरमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिसकेको छैन । भैरहवा मेडिकल कलेज लैजाने क्रममा गोली लागेका तीन जनाको मृत्यु भएको हो ।  यसैगरी एक जनाको अवस्था गम्भीर रहेको छ ।

औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो । झडप नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको हो ।  लुम्बिनी प्रदेश अस्पतालमा पनि  गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १५ जना सर्वसाधारण र १६ जना प्रहरी घटनामा घाइते भइ उपचाररत रहेका छन् । 

आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा​ सुकुम्बासी भनिएकाहरु र प्रहरीबीच झडप हुँदै आएको थियो भने  दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा दिन  प्रहरीले गोली चलाएको थियो । यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको  छ । 

प्रतिक्रिया दिनुहोस