कांग्रेसमा मन्त्री छान्न अझै किचलो

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, ०८ : ५५
कांग्रेसमा मन्त्री छान्न अझै किचलो

काठमाडौं । ८७ दिनमा बल्लतल्ल मन्त्रालय भागवन्डा टुंगो लगाएर मन्त्रिमण्डललाई पूर्णता दिन कस्सिएका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै दलभित्र मन्त्री छान्न अप्ठ्यारोमा परेका छन् । प्रधानमन्त्री सहित ४ मन्त्री र १ राज्यमन्त्री आफ्नै पार्टी काँग्रेसबाट बनाईसकेका देउवाले अब सत्ता गठबन्धन दलको मन्त्रालय भागवन्डाका आधारमा थप ३ मन्त्री मात्र नियुक्त गर्न सक्नेछन् ।

तर पार्टीभित्रको पौडेल समुहले नै ३ मन्त्री माग गरेपछि देउवालाई सकस परेको छ । देउवाले २ वटा मात्र मन्त्रालय पौडेल पक्षलाई दिन सकिने बताएका छन् । पौडेल समुहमा आकांक्षी नेताहरुको संख्या नै बढी रहेको र मन्त्रालयको संख्या देउवाले २ मात्र दिने बताएपछि थप अप्ठ्यारोमा पौडेल समुह छ । महाधिवेशनको सम्मुखमा सरकारका मन्त्री छान्नु पर्ने भएकाले सबै आकांक्षीलाई चित्त बुझाएर त्यसभित्रबाट २ मन्त्री कसरी बनाउने भन्नेमा आन्तरिक छलफलमा छ । डा. रामशरण महतको निवासमा काँग्रेसको पौडेल पक्षका नेताहरुको बैठक बसेको थियो ।

तर कसलाई पठाउने भन्नेमा टुंगो लगाउन नसकेपछि ३ मन्त्रालय नै देउवासँग माग गर्ने भन्दै विना निश्कर्ष टुंगिएको थियो । पौडेल पक्षबाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी र सञ्जय गौतम बढी मन्त्रीका आकांक्षी छन् । २ वटा मन्त्रालय मात्र देउवाले दिँदा यीमध्ये रिजाल र बडूको सम्भावना बढी रहेको काँग्रेसका पौडेल पक्षका एक नेताले बताए ।

रिजाल महामन्त्री शशांक कोइराला र बडू वरिष्ठ नेता पौडेलनिकट हुन् । प्रकाशमान सिंहले भने राजन केसीलाई मन्त्री बनाउन चाहेका छन् । पौडेल समुहमा महामन्त्री र वरिष्ठ नेता मिलेर आफु निकटलाई मात्र मन्त्री पठाउन खोजेपछि प्रकाशमान सिंहले आफ्नो सिफारिसमा मन्त्री नपाउने अवस्था छ । सोही कारण उनी असन्तुष्ट देखिएका छन् । उनले बुधबार साँझ देउवासँग छुट्टै  भेटेर पौडेल समुहका लागि ३ मन्त्री दिन माग गरेका थिए ।

पौडेल पक्षका नेताहरुको छलफल पछि बधबार साँझ नै प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो । उक्त बैठकमा पनि पौडेल पक्षले अब काँग्रेसले थप गर्न पाउने ३ मन्त्री नै आफ्नो पक्षले सिफारिस गरेका आधारमा थप गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर देउवाले ३ मन्त्रालय दिन नसकिने र २ मन्त्रालय मात्र पौडेल पक्षलाई दिने बताएका थिए ।

देउवाले भने २ मन्त्रालय पौडेल समुहलाई र थप १ मन्त्रालय सिटौला पक्षलाई दिने तयारी गरेका छन् । आउने महाधिवेशनमा सिटौलालाई आफ्नो समुहसँग मिलाउन पनि प्रधानमन्त्री देउवाले सिटौला पक्षलार्इ नजिक ल्याउन चाहिरहेका छन् । सोही कारण पनि उनले सिटौला पक्षलाई एक मन्त्री दिने तयारी गरेका छन् ।

सिटौला समूहले उमाकान्त चौधरीलाई पठाउने लगभग तयारी गरेको छ । अहिले काँग्रेसबाट गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा नारायण खड्का, कानुन–न्याय तथा संसदीय मामिलामा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ  नियुक्त भइसकेका छन् ।