चितवनमा निर्वाचनको तयारी अन्तिम चरणमा

मंगलबार, १९ मंसिर २०७४, १७ : ३९
चितवनमा निर्वाचनको तयारी अन्तिम चरणमा

चितवन, १९ मंसिर । यहि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा रहेका तीन क्षेत्रको १ सय ६१ मतदान स्थलको ४ सय ८ केन्द्रमा कर्मचारी, मतपत्र, परिचय पत्र लगायतका निर्वाचन सामग्री पुगिसकेका छन् ।  निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न गर्नका लागि तीन हजार दुई सय ६४ जना कर्मचारी, एक हजार छ सय २७ स्वंमसेवक परिचालन गरिएको छ । पाँच सय भन्दा बढी मतदाता रहेको केन्द्रमा १२ जना कर्मचारी र स्वंमसेवक परिचालन गरिएको छ भने पाँच सय भन्दा कम मतदाता रहेको केन्द्रमा ११ जना कर्मचारी र स्वंसेवक खटाईएको  छ ।

मतदान स्थलमा खटिएका कर्मचारीले मतदान स्थल बनाउने तयारी थालेका छन् । सुरक्षाका दृष्टिले पनि जिल्लाको सुरक्षालाई चुस्त बनाउँदै लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिनु भयो ।

उहाँका अनुसार मतदान केन्द्रको सम्वेदनशीलताका आधारमा १२ जनादेखि ४९ जना सम्म सुरक्षाकर्मी परिचालन गरिएको छ । समग्र जिल्लाको सुरक्षाका लागि आवश्यकता अनुसा सुरक्षाकर्मी परिचालन गरिएको थापाले बताउनुभयो । जटिलताको मध्यनजर गर्दै थप मद्दत समेत तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । जिल्लामा रहेका मतदान केन्द्र मध्ये ५२ वटा मतदान केन्द्र अति सम्बेदनशील केन्द्रको रुपमा राखी विशेष सुरक्षा व्यवस्था गरिएको छ ।

जिल्लामा उच्च तहका नेतृत्वहरुको प्रतिस्पार्धा भएकाले सुरक्षा व्यवस्थालाई अझै मजबुत बनाउनका लागि चार वटा तालिमप्राप्त कुकुर सहित दैनिक २५ जनाको टोलीले डग स्मिकिङ् समेत सुरु गरेको थापाले बताउनु भयो । दैनिक सात ठाउँमा र आबश्यकता अनुसार उम्मेदवारको घर, मतदान स्थलमा कुकुरको प्रयोग गरिने उहाँले बताउनु भयो । सुरक्षा व्यवस्था बलियो बनाउनका लागि प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको नेतृत्वमा २५ वटा मोवाई टोली, शशस्त्र प्रहरी बलको ६० वटा मोवाई टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित खतरालाई मध्य नजर गर्दै सुरक्षा निकायका चार वटै अंगलाई सुस्म रुपले परिचालन गरिएको थापाले बताउनु भयो । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, दोस्रो घेरामा शशस्त्र प्रहरी बल र वाह्य घेरामा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाईएको छ । प्रहरीलाई जिल्लालाई १२ सेक्टरमा बिभाजन गरी सादा पोसाकमा परिचालन समेत गरिएको छ ।

निर्वाचनलाई लक्षित गरी नेपाली सेना र शशस्त्र प्रहरीले तीन निर्वाचन क्षेत्रमा बेस बनाएर सुरक्षा दिई रहेको छ । आबश्यकता अनुसार अझै थप गर्दै लगिने थापाले बताउनु भयो । मौन अबधिमा हुन सक्ने घटना नियन्त्रणका लागि १५ वटा टोलि समेत खटाई सकिएको छ ।

जिल्लामा मतदाता संख्या ३ लाख ५४ हजार ३६ रहेको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार १ लाख ८४ हजार ६८ जना महिला र १ लाख ६९ हजार ९ सय ६७ जना पुरुष मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस