अखिल क्रान्तिकारीको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १९ : ४७
अखिल क्रान्तिकारीको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भ्रातृ संगठन अखिल क्रान्तिकारीको नयाँ अध्यक्ष छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले अध्यक्षका दाबेदार केही नाममा छलफल गरे पनि टुंगो लगाउन नसकिएको र यसको जिम्मा अध्यक्ष प्रचण्डलाई आएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । 

स्थायी कमिटीले नेतृत्व छान्न नसकेपछि थप निर्णयका लागि दाबेदार नेताहरुसँग प्रचण्डसहित माओवादीका शीर्ष नेताले आइतवार पनि छलफल गर्ने भएका छन्।माओवादीले सम्भावित नाम टुंगो नलगाए पनि राजधानीमा जारी अखिल क्रान्तिकारीको २२ औँ सम्मेलनले तल्लो तहको नेतृत्वको भने टुंगो लगाइरहेको छ। अध्यक्षबाहेक अरु पदमा क्रान्तिकारीले नेतृत्वको टुंगो गरिरहेको छ ।

अखिल क्रान्तिकारीको नयाँ अध्यक्षका लागि सुरेन्द्र बस्नेत र पञ्चा सिंह प्रतिस्पर्धामा देखिएका छन् । बस्नेत अहिले वरिष्ठ उपाध्यक्षको भूमिका छन् । उता सिंह उपाध्यक्षको जिम्मेवारीमा छन् । यी दुईबाहेक उपाध्यक्षहरू तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतमसँगै महासचिव उत्तम अधिकारी अध्यक्षको प्रतिस्पर्धामा देखिएका छन् । 

माओवादीले बस्नेत र सिंहमध्ये एकलाई अध्यक्ष बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस