काठमाडौँ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले नेकपा एमालेसँग प्रतिवाद गरेर अगाडि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्षसमेत सुनाए।
पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले अबको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयताविरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए। त्यो भयो भने एमालेजस्तो जाली, फटाहा भएको पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने अध्यक्ष दाहालको दाबी छ।
उनले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनीसमेत दिए। उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन्। उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौँ भनेका छन्।’
देशभर एमालेसँग प्रतिवाद नगरी चुनाव नजितिने उनले बताए। उनले भने, ‘यी जाली फटाहाहरूले अहिले हामीलाई हेप्न खोजेका छन्। तिनको सातो खाने। पहिलो आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे। डेढ वर्ष आँखा चिम्लेर मिहिनेत गरौँ। यो देश हामीले बचाउनुपर्छ, गणतन्त्र हामीले बचाउनुपर्छ। देशको रक्षा गर्नुपर्छ ।’
अध्यक्ष दाहालले देशको रक्षा गर्न, संविधानको रक्षा गर्न र गणतन्त्र बचाउन पनि एमालेविरुद्ध सशक्त ढंगले अगाडि बढ्नुपर्ने तर्क गरे।
उनले केपी ओली एक्लै केही नभएको पनि बताए। अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नुपरेको समेत दोहोर्याए।
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए। उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रियासमेत दिए। ‘आज म खुसी छु। अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे, राष्ट्रको हित गर्ने सबै मान्छेसँग सहकार्य भएको छ।
शेरबहादुरले मलाई पार्टी एकता भइसकेको थिएन, चुनाव भइसकेको थियो। मलाई भन्नुभयो, पाँच वर्ष नै तपाईं प्रधानमन्त्री हुनुस्। हामी फ्लोवरमा बसेर समर्थन गर्छौं तपाईंलाई’, उनले भने, ‘तर जनताबीच जान छाडेर प्रधानमन्त्री खान खोजे भनेँ त म पनि प्रतिक्रियावादीजस्तै अवसरवादी हुने भएँ, मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइनँ। तर, डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस् भनेर शेरबहादुरलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो
जेनजी युवाहरूको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको माग
प्रचण्डको पोस्टमा बालेनको कमेन्ट : 'एकादेशमा टिकटक पनि बन्द भएको थियो'
‘माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ’: प्रचण्ड