काठमाडौं । विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई ५० लाख रूपैयाँ धरौटी राखी थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने आदेश गरेको छ। सोमबार न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले १ अर्ब रूपैयाँ बढीको माग दाबी गरिएको भ्रष्टाचार मुद्दामा धरौटी राख्ने अनुमति दिएको हो।
कर फस्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणिसहित ३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७८ असार ९ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। लुम्बध्वज र उमेशप्रसादको आइतबार थुनछेक बहस भएको थियो। दुवैलाई जनही ५० लाख रूपैयाँ धरौटी मागिएको थियो।
धरौटी मागेअनुसार मुद्दाका प्रतिवादीले जनही ५० लाख अदालतमा बुझाएका छन्। लुम्बध्वज र उमेशप्रसादले आइतबार तोकिएको धरौटी बुझाएका हुन्। अदालतको यो अन्तिम निर्णय भने होइन। अदालतले मागेको धरौटी बुझाएपछि उनीहरू पुर्पक्षका लागि थुनामा बस्नुपर्ने छैन। उनीहरू थुनाबाहिरै बसेर मुद्दाको अनुसन्धान हुने भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब ३३ लाख २० हजार ३८५ रूपैयाँ माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
चूडामणि सोमबार विशेष अदालतमा थुनछेक बहसमा उपस्थित भएका थिए। उनले अदालतमा उपस्थित हुँदा कर फस्र्योट आयोगले आफ्नो दायराबाहिर गएर कुनेै काम नगरेको बयान दिएका थिए। ‘चूडामणि शर्मा ढकालबाट ५० लाख रूपैयाँ धरौटी माग गरिएको छ। माग भएको धरौटी नगद वा बैंक जमानत दिन सके लिई निजहरूलाई तारेखमा राख्नु र दिन नसके मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार थुनुवा पुर्जी दिई कारागार पठाइदिनू’ सोमबार अदालतद्वारा जारी आदेशमा भनिएको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १२ असोज २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति विकास कोषका सदस्यसचिवसहित १६ जनाविरुद्ध मुद्दा दायर
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा
भ्रष्टाचार आरोपमा नौ जनाविरुद्ध मुद्दा
मधेसमा भ्रष्टाचार: प्रदेश सचिवसहितका कर्मचारीविरुद्ध ५१ करोडको मुद्दा दायर