युभेन्ट्सले निकाल्यो दोश्रो जित

एजेन्सी

सोमबार, ११ असोज २०७८, ०८ : २९
युभेन्ट्सले निकाल्यो दोश्रो जित

एजेन्सी । युभेन्ट्सले साम्पडोरियालाई ३–२ ले पन्छाउँदै आइतबार इटालियन सिरी ‘ए’ मा दोस्रो जित हात पारेको छ । तर, खेलमा चोट लागेका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाबिना नै युभेन्ट्सले च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध खेल्नुपर्ने हुन सक्छ ।

एलियान्ज एरिनामा डिबालाले सुरुमै गोलको खाता खोलेका थिए । अरू गोल लियोनार्डो बोनुची र म्यानुयल लोकाटेलीले गरे पनि युभेन्ट्स ८ अंक बनाएर नवौं स्थानमा उक्लियो । चोटग्रस्त खेलाडीको लामो सूची थपिने क्रममा २७ वर्षीय डिबालाले आँसु बगाउँदै मैदान छाड्नुपर्‍यो ।

मासिमिलानो एलेग्रीको टिमले च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा बुधबार च्याम्पियन चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यी प्रशिक्षकले सोमबार हुने परीक्षणमा डिबालाको सकारात्मक नतिजा आशा गरेका छन् । यो सिजन प्रतियोगितामा तेस्रो गोल गर्दै डिबालाले उत्कृष्ट सुरुआत गरेका थिए । लोकाटेलीको प्रहार रोकेपछि डिबालाले पाएको अवसरमा नवौं मिनेटमा आकर्षक गोल गरेका थिए ।

घरेलु टिमलाई डिबालाको चोटले भावनात्मक बनाइदियो । उनीबिना युभेन्ट्सको प्रदर्शन पनि खराब रह्यो । बोनुचीले ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । तुरुन्तै फाबियो क्वाग्लिएरेलाले साम्पडोरियालाई खेलमा फर्काउने प्रयास गरेपछि माया योसिदाले पाहुना टिमका लागि पहिलो गोल गरे ।

प्रतिक्रिया दिनुहोस