सुरक्षाको चिन्ता नगरी ढुक्क भएर मतदान गर्नुहोस् : प्रमुख निर्वाचन आयुक्त

मंगलबार, १९ मंसिर २०७४, १३ : ०६
सुरक्षाको चिन्ता नगरी ढुक्क भएर मतदान गर्नुहोस्  : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, १९ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बिहीबार (२१ गते) ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । उनले भने, “सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताहरुको लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु ।”

यद्यपी उनले निर्वाचनको पूर्वसन्ध्यामा उमेदवारलाई लक्षित गरेर घटाईएका घट्नाहरुप्रति खेद व्यक्त गरे । यादवले थपे, “म यस्ता घट्नाहरुप्रति दुःख व्यक्त गर्दछु, आयोग घट्नाको भत्र्सना गर्छ ।” उनले निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत बताए ।

उनले भने, “निर्वाचनको तयारीको क्रममा व्यापक जनसहभागिता देखिएको छ, आम मतदाताहरुमा उत्साह छाएको छ, यो निर्वाचनलाई हामीले त पर्वको रुपमा लिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न म यही मञ्चबाट आह्वान गर्दछु ।”

यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जानकारी दिए । उनले भने, “मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भैसकेको छ, आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए ती सबै समस्याहरु हल गर्नको लागि हामी तयारी अवस्थामा बसेका छौं ।”

आयोगका पदाधिकारीहरु निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने काममा व्यस्त रहेको समेत यादवले जनाए । मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनको लागि समेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले जनाए । त्यस्तै मतगणनाको लागि पनि आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको पनि उनले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस