डुबानमा परेका पुनर्वासका ८५ परिवारलाई राहत सामग्री

रासस

शनिबार, ०२ असोज २०७८, २१ : २३
डुबानमा परेका पुनर्वासका ८५ परिवारलाई राहत सामग्री

काठमाडौँ । पुनर्वास नगरपालिका–५ सिमरीगाउँँका दोदा नदीको बाढीबाट प्रभावित ८५ परिवारलाई आज राहत सामग्री वितरण गरिएको छ ।

बाढीले डुबानमा परेका परिवारलाई विजय गालिल युवा समूहको सहकार्यमा काठमाडौँ निवासी अमर विष्टको सहयोगमा रु दुई लाख मूल्य बराबरको चामल, दाल, तेल, नुन, साबुनलगायतका राहत सामग्री वितरण गरएको हो ।

बाढीपीडित सिमरीगाउँका भलमन्सा राधेश्याम रानाले बाढीले विस्थापन गरेको महिना दिनपछि राहत सामग्री पाएको बताए । “यसअघि नगरपालिका र रेडक्रसका तर्फबाट स्वास्थ्यसम्बन्धी सामग्री पाएका थियौँ”, उनले भने, “बाढीले अन्नलगागतका खाद्य सामग्री बगाएर तथा भिजाएर नोक्सान गरी निकै अप्ठेरोमा परेका बेला खाद्य सामग्री पाएका छौँ । यसले केही दिनको छाक टार्न पुग्छ ।”

खाद्य सामग्रीका लागि सिमरीगाउँका बाढीपीडित स्थानीयवासीले स्थानीय निकायसँग खाद्य राहत सामग्री उपलब्ध गराइदिन मागसमेत गरेका छन् ।

विपद्मा परेका व्यक्तिलाई सहयोग गर्न पाउँदा निकै खुशी भएको सहयोगदाता विष्टले बताए । भदौ ११ गते चुरेक्षेत्रमा भएको वर्षाका कारण दोदा नदीमा बाढी आउँदा सिमरीका बासिन्दा डुबानमा परेका थिए । सुरक्षित स्थानमा सारिएका उनीहरू अहिले घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस