सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : भिम रावल

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, ०८ : ५४
सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : भिम रावल

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन् । नेकपा एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला अछाम आएका रावलले सदरमुकाम मंगलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, विधिको शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरू देश र जनताप्रति उदासीन भएको आरोप लगाए ।

CG Developers Tansen Cement box

‘दुई महिनादेखि सरकार विस्तार भएको छैन । सत्ता साझेदार दलहरू बढी कमिसन आउने मन्त्रालय ताकेर बसेका छन् । यो जनताप्रतिको चरम उदासीनता हो’, नेता रावलले भने । उनले नेपालमा प्रजातन्त्रको स्थापना तथा बजेट जारी गर्ने प्रक्रिया सुरु भएदेखि हालसम्म नभएको घटना घटेको बताए । बजेट संसदबाट पारित हुन नसकेर सरकारले खर्च गर्न नपाउने अवस्था आएकोप्रति उनले खेद व्यक्त गरे ।

नेता रावलले आफूले जहिले पनि निःस्वार्थ रूपमा देश र जनताको भलाई, पार्टीको हित तथा राष्ट्रियताको पक्षमा आवाज उठाइरहेको प्रस्टोक्ति दिए । उनले पार्टी फुटको पीडा सिंगो देश र एमालेले नराम्रोसँग भोगिसकेकाले पार्टी विभाजन कसैको हितमा नभएको बताए ।

आफूले विषय र गुणदोषका आधारमा बोल्ने गरेको तर राष्ट्रियता, स्वाधीनता र अखण्डता पार्टी भन्दामाथि रहने रावलले बताए । आफूले वर्षौँदेखि माया गरेका र भरोसा गरेको एमालेको पंक्ति एमालेमै रहेको भन्दै पार्टी त्यागेकाहरूलाई समयले नै जवाफ दिने बताए । एमाले जिल्ला उपाध्यक्ष नन्दसिंह कडायको अध्यक्षतामा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भरत साउँद, बम बिसी, कृष्ण प्रसाद जैसी, अछाम क्षेत्र नम्बर २ का सांसद तथा पार्टी सचिव यज्ञ बोगटी, अनेरास्ववियु केन्द्रीय सदस्य डम्बर बिसी, एमाले जिल्ला सचिवालय सदस्य सरिता उपाध्यायलगायतले मन्तव्य राखेका  थिए ।

प्रतिक्रिया दिनुहोस