ए डिभिजन लिग : ब्रिगेड ब्वाईजको खर्च करोड माथि

सफल खबर संवाददाता

विहीबार, ३१ भदौ २०७८, १४ : ०५
ए डिभिजन लिग : ब्रिगेड ब्वाईजको खर्च करोड माथि

काठमाडौं । २०६१ सालमा शहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब बीबीसी बढुवा भएको थियो । त्यसयता, क्लबले ६ संस्करण ए डिभिजन लिग खेलिसकेको छ । गत वर्षमात्र क्लबले सुरुवाती चार खेल खेल्दै ए डिभिजन लिगमा शतक खेल पूरा गरेको थियो । १०० खेल पूरा गरेपछि क्लब रेलिगेशन घटुवातर्फ अघि बढ्यो । तर, युवा खेलाडी र अनुभवी खेलाडीले टिमलाई रेलिगेशनबाट बचाए । 

तर, रेलिगेशनमा परेर निस्किए पनि त्यसको पीडा र तनाव भने तत्कालीन कार्यसमितिलाई निकै भयो । गत लिगमा भोगेको पीडा र तनावलाई यसपटक नदोहो¥याउने बाचासहित ब्रिगेड ब्वाईज क्लबले ए डिभिजन लिगको तयारी सुरु गरिसकेको छ । क्लबले यसपटक ठूलै प्रायोजक खोज्दै छ । क्लबले आफ्नो आर्थिक स्थिति बलियो बनाउने योजना ल्याएको छ । 

गत २६ भदौमा ब्रिगेड ब्वाइज क्लबको २१औँ साधारणसभा सम्पन्न भयो । क्लबले अध्यक्षमा लालकुमार पुनसहित १३ सदस्यीय कार्यसमिति पाएको छ । १३ सदस्य नै सर्वसम्मतले निर्वाचित भएका हुन् । लालकुमार यसअघि क्लबको कार्यकारी अध्यक्षको रुपमा रहेका थिए । निर्वाचित हेमराज थापा अस्वस्थ भएपछि लालकुमारले कार्यकारीको जिम्मेवारी पाएका थिए । 

यस्तै, उपाध्यक्षमा राजु हैजु रहेका छन् भने महासचिवमा स्मिथ लामा र सहमहासचिवमा मिनाकुमारी राई छिन् । कोषाध्यक्षमा अर्विन्द गुरुङ सर्वसम्मत रहे । सदस्यहरूमा अनुप बस्नेत, लोकबहादुर थापा, सनोज श्रेष्ठ, राकेश भट्टराई, सन्दीप धिमिरे, सूर्य पोखरेल, विनय भट्टराई र राजु श्रेष्ठ छन् । 

सर्वसम्मतले निर्वाचित भएसँगै क्लबले बैठकमार्फत आगामी २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिगको तयारीका विषयमा छलफल गरेको थियो । कार्यसमितिले आगामी लिगको लागि सम्भावित खाका तयार पार्दै सम्भावित खर्चको विषयमासमेत गृहकार्य भएको थियो । 

क्लबले यस सिजनको खर्च करोडमाथि जाने अनुमान गरेको छ । उसले यस सिजनको लिगमा एक करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । ‘यो सिजन क्लबले ठूलै खर्च गर्ने योजना बनाएको छ । हामी नतिजासमेत राम्रो निकाल्ने योजनामा छौं । जसअनुसार हामीले एक करोडदेखि एक करोड २० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरेका छौं’, उपाध्यक्ष राजु हैजुले  भने । 

उपाध्यक्ष राजुले सबै खर्च प्रायोजकबाट नै उठाउने तयारी भएको र अब क्लबले प्रायोजक खोज्न थाल्ने बताए । क्लबले यसपटक गत सिजनकै खेलाडीलाई निरन्तरता दिने बताएको छ । उसले विदेशी खेलाडीको हकमा भने केही नेपाल सुपर लिग एनएसएल तथा कोहि मोफसल खेलिसकेका विदेशी खेलाडी झिकाउने तयारी गरेको छ । 

गत सिजन क्लबको व्यवस्थापकसमेत रहेका अर्विन्द गुरुङ यसपटक कोषाध्यक्षमा निर्वाचित भएका छन् । उनले गत सिजनकै नेपाली खेलाडीलाई निरन्तरता दिने र केही नयाँ खेलाडीसमेत क्लबमा रहने बताए । 

‘हामीले गत सिजन खेलेका खेलाडीलाई नै निरन्तरता दिँदैछौँ । विदेशी खेलाडीको हकमा भने सबै नयाँ हुनेछन् । केहि खेलाडी एनएसएल खेलेका छन् भने केहि अन्य क्लबबाट खेलेका हुनेछन्’, कोषाध्यक्ष गुरुङले भने । 

ए डिभिजन लिगमा बीबीसीको ६ संस्करणको इतिहास हेर्ने हो भने रेलिगेशन जोन जोगाउने मात्रै रणनीति देखिन्छ । गत सिजनसमेत क्लब घटुवा हुनबाट मात्रै जोगियो । ६१, ६२ सालको लिगमा ९ औं स्थान हात पार्नुनै बीबीसीको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो ।  

यसपटक भने क्लबले सुपर सिक्समा स्थान बनाउने गरी तयारी गरिरहेको बताएको छ । व्यवस्थापकसमेत रहेका अर्विन्दले यस पटक ‘सुपर सिक्स’ मा स्थान बनाउने लक्ष्यसहित क्लबले लिग खेल्ने बताए । 

‘यसपटक हामी सुपर सिक्सको टार्गेटसहित लिगमा आउनेछौं । खर्चसमेत राम्रै गर्ने भएकाले हामी त्यसका लागि तयार छौं’, अर्विन्दले भने । २९ कात्तिकबाट आयोजना हुने लिगमा बीबीसीको कप्तानी पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा कप्तान अनिल गुरुङले गर्नेछन् । यस्तै प्रशिक्षकको जिम्मेवारी भने क्लबको सदस्यसमेत रहेका ए लाईसेन्स प्राप्त प्रशिक्षक सनोज श्रेष्ठले पाएका छन् । 

प्रतिक्रिया दिनुहोस