काठमाडौं । प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा (एकीकृत समाजवादी)ले आज समर्थन फिर्ता लिएको छ । प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ ।
सो पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गर्नुभयो । दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन आजको मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ ।
सो अवसरमा प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन दलसँग छलफल गरी सहमति पुग्ने विचार व्यक्त गरे ।
उहाँले एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई र राजन राई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सर्वोच्च अदालतमा मुद्दा चलिररहेकाले एकीकृत समाजवादी दल आधिकारिक नभएको बताए । उनले अदालतको फैसलापछि मात्र प्रदेश सरकारले विश्वासको मत लिने वा राजीनामा दिने सम्बन्धमा पार्टीले आधिकारिक निर्णय लिने जानकारी दिए ।
प्रदेशसभाका सचिव पराजुलीले एकीकृत समाजवादीको समर्थन फिर्ता पत्रका सम्बन्धमा प्रदेश प्रमुखको कार्यालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको बताए । उहाँले यस सम्बन्धमा नेपालको संविधान, प्रदेशसभा नियमावली र प्रचलित कानूनअनुसार अगाडि बढ्ने जानकारी दिए ।
यसअघि आज एकीकृत समाजवादीको प्रदेश नं १ संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरिएको सार्वजनिक गरिएको थियो । नेकपा (एकीकृत समाजवादी)को प्रदेशसभामा १० जना सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २८ भदौ २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै
सरकारबाट बाहिरिने चेतावनीपछि नेकपा एसकी अधिकारी पनि मन्त्री नियुक्त
नेकपा एस चितवनको १०औं जिल्ला अधिवेशन वैशाख १९ र २० गते हुने
सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय
नेकपा एसले राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने