बाँकेमा पाटेबाघको आक्रमणबाट एकजनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १३ : १०
बाँकेमा पाटेबाघको आक्रमणबाट एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु गएको छ । राप्तीसोनारी गाउँपालिका-१ गाभरमा भेरी राप्ती स्टाफ होटलमा काम गर्ने करिब ४५ वर्षका व्यक्तिलाई पाटेबाघले खाएको अवस्थामा शव भेटिएको बाँके प्रहरीले जनाएको छ  ।

इलाका प्रहरी कार्यालय कोहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले बाघको आक्रमणमा परेका ती व्यक्ति आइतबार बेलुकीदेखि हराइरहेका थिए । तर, खोजी गर्नेक्रममा उनको सोमबार बिहान आधा शरीर खाएको अवस्था शव भेटिएको डिएसपी खनालले जानकारी दिए ।

केही समयदेखि सो होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन । मधेशी समुदायका ती व्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए ।

होटलमा काम सकेपछि बेलुकीपख गर्मी छल्नको लागि उनी सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्ने र अबेर फर्किने गरेका उनी रातीदेखि नै फर्केका थिएनन् । मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिब पाँच  सय मिटर उत्तरतर्फ बाँके राष्ट्रिय निकुञ्ज भित्रको जंगलमा भेटिएको डिएसपी खनालले बताए ।

डिएसपी खनालले भने, ‘बाघले मृतकको आधा शरीर खाइसकेको छ । अहिले पनि बाघ शवसँगै छ । बाघको जोडी नै रहेको पाइएको छ ।’ घटनास्थलमा प्रहरी, निकुञ्जको टोली परिचालित भएको छ । 
  

प्रतिक्रिया दिनुहोस