चितवनका किसानमा ड्रागन खेती मोह, २५ बिगाहा बढी जमिनमा खेती सुरु

प्रकाश सिग्देल

आइतबार, २७ भदौ २०७८, १३ : ३९
चितवनका किसानमा ड्रागन खेती मोह, २५ बिगाहा बढी जमिनमा खेती सुरु

चितवन । नयाँ नयाँ योजना र सोचका साथ पछिल्लो समय कृषि क्षेत्रमा पौरख गर्न चाहानेहरुको संख्या चितवनमा बढ्दै जान थालेको छ । यहाँ पछिल्लो समय उद्यमान खेतीका रुपमा ड्रागन खेती फस्टाएको छ ।

साना साना किसान देखि जिल्लाका प्रतिष्ठित व्यवसायीहरु पनि व्यवसायीक रुपमा यो खेती गर्न थालेका छन् । ठुला ठुला ब्यवसायीक घरानाले चितवनमा कृषिमा लगानी नगरेपनि चितवनमै आफुलाई स्थापित गर्न सफल यहाका राम्रा प्रतिष्ठित उद्यमीहरुले कृषिमा लगानी गरेर काम गर्न थालेका छन् । बिगत ३ वर्ष यता चितवनमा करिव २५ बिगाहा जमिनमा व्यवसायीक रुपमा ड्रागन खेती सुरु भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

बागमती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष फोकस गरेर यहा ड्रागन खेती विस्तारका लागि काम गरेको बताए । उनका अनुसार चितवनमा विगत ३ वर्ष यता यो खेती गर्न किसान धेरै जागरुक भएका छन् । संस्थागत तवरबाट १६ बिगाहा क्षेत्रमा खेती बिस्तार भएको र अन्य साना किसानले पनि ८/१० बिगाहामा खेती गरिसकेका छन् । यो क्रम चितवनमा उच्च हुने देखिन्छ । 

यहाका शैक्षिक उद्यमी शम्भु सुबेदी र उनको टिमले भरतपुर गौरीगञ्जमा  सत्सबेदा साईन्स एण्ड एग्रिकल्चर फर्म हाउस दर्ता गरेर २ वर्ष देखि डेढ बिगाहा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती सुरु गरेको उनले बताए । अहिले सम्म ४० लाख लगानी भएको उनी बताउछन् ।

यो खेती स्वास्थ्यका दृष्टिकोणले धेरै फलदायी र एक पटक रोपे पछी २० वर्ष सम्म फल लिन पाईने भएकाले यस बाट राम्रो लाभ लिन सकिने उनी बताउछन् । यसको बजार मुल्य प्रतिकेजी ६ सय देखि ८ सय सम्म रहेको छ ।

भरतपुर महानगरपालिका– २६ दिब्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरूङ र ताइबहादुर गुरूङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फर्म खोलेर एक विघा बढि जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् ।

विदेशको जागिरबाट अवकासपछि व्यवसायिक कृषिमा सकृय भएका उनीहरु नेपालमा नयाँ भएकोले ड्रागन खेती थालेको बताउँछन् । चितवनमा यहि नै पहिलो व्यवसायीक फर्म हो ।

यहा साना किसानले पनि घरबारिमा यसको खेती गर्न थालेका छन् । भरतपुर महानगर २१ पार्वतीपुरका किसान नारायण प्रसाद सोतीले ५ कठ्ठा घरबारिमा यसको खेती गरेको बताए । खाली खेर गएको जमिन पनि सदुपयोग हुने र ड्रागनको बिचमा अन्तर बालि पनि लगाउन मिल्ने भएकाले आफुले परिक्षणका रुपमा यस पटक ड्रागनको बिरुवाका मुनी धान खेति गरेको उनले बताए ।

ड्रागन पानी नसहने बिरुवा मानिन्छ यो खेतिका लागी बलौटे प्रकारको उच्च जमिन आवश्यक पर्ने व्यवसायीक कृषकहरु बताउछन् । तर सोतीले परिक्षणका लागि ड्रागनका बिरुवा मुनि धान खेती गरेका छन् । 

ड्रागन अहिले सम्म परिक्षणकै रुपमा रहेको नयाँ खेती भएको र किसानहरुले आफैले बिभिन्न तरिकाहरु गरेर परिक्षण समेत गर्दै आएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकाल बताउछन् । यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने र चितवनको माटोमा यो खेती राम्रो हुने देखिएकाले आफुहरुले किसानलाई अनुदान प्रदान गरेर यहाका फार्मलाई नमुना र मोडल फार्मका रुपमा विकास गर्न लागेको बताए ।

 

मानव स्वास्थ्यका लागि धेरे लाभदायी यो फलको सेवनले क्यान्सर लगायतका जटिल प्रकारका रोग नियन्त्रणमा सहयोग पुग्नका साथै  ड्रागन फ्रुटमा  १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यसबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी पनि बनाउन सकिने बिज्ञहरुले बताएका छन् । धेरै मेहनत गर्न पनि नपर्ने यो फलको उत्पादन संगै बजारीकरणमा सहजता भए यसले साना किसानको जिवन स्थर उकास्न धेरै सहयोग पुग्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस