मौन अवधि

मौन अवधि : फेसबुक, भाइबर र ट्विटरबाट पनि भोट माग्न नपाइने

मंगलबार, १९ मंसिर २०७४, ०९ : ५३
मौन अवधि : फेसबुक, भाइबर र ट्विटरबाट पनि भोट माग्न नपाइने

 बिहीबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । दोस्रो चरणमा बिहीबार ४५ जिल्लामा चुनाव हुँदैछ । त्यसका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

“मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उमेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उमेदवारहरू, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन । साथै आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उमेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने हुँदा त्यस्ता सामग्री प्रकाशन÷प्रसारण नगर्न आयोग हार्दिक आग्रह गर्दछ,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मौन अवधिमा पालना गर्नैपर्ने कुराहरु–

१.  निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने ।

२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

३.  एस.एम.एस., फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

४. मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।
 

 

प्रतिक्रिया दिनुहोस