राष्ट्रिय जनगणना कार्यतालिका स्वीकृत, कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १९ : ०२
राष्ट्रिय जनगणना कार्यतालिका स्वीकृत, कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने

काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । ‘हामीले पठाएको प्रस्ताव स्वीकृति भएको छ, विभागका निर्देशक ढुण्डीराज लामिछाने भने, ‘अब अन्तिम तयारीका काम थाल्छौं ।’

विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने निर्देशक लामिछानेले जानकारी दिए । उनीहरुको तालिमपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

विभागका निर्देशक लामिछानेले जिल्लाहरुमा जनगणनाको तयारी निरन्तर भइरहेको बताए । यसअघि विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित भएको थियो ।

नेपालमा वि.सं १९६८ सालबाट जनगणना शुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन नसकेको हो ।२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि महामारीका कारण अहिले दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो ।यद्यपि यसवर्ष भने २०७८ सालभित्रै जनगणना सकिने विभागको भनाइ छ ।


 

प्रतिक्रिया दिनुहोस