दार्चुला घटनालाई लिएर काठमाडौंमा ‘विप्लव’ निकट विद्यार्थी संगठनको विरोध प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, १७ : २२
दार्चुला घटनालाई लिएर काठमाडौंमा ‘विप्लव’ निकट विद्यार्थी संगठनको विरोध प्रदर्शन

काठमाडौं । दार्चुला तुइन घटनामा सरकार मौन रहेको भन्दै ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरुले दार्चुला तुइन घटनामा बेपता भएका जयसिंह धामीको विषयमा सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

साथै उनीहरुले नेपाली आकाशमाथिबाट भारतीय हवाई गस्ती र भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपालप्रति हेपाह शैलीमा अभिव्यक्ति दिएको भन्दै आक्रोश जनाएका थिए । प्रदर्शनमा सहभागीहरुले जयसिंह धामीलाई शहीद घोषणा गर, कालापानी नालापानी लिपुलेक नेपाली भूमि हुन्, लगाएतका प्ले–कार्ड बोकेका थिए ।

प्रदर्शनमा अखिल क्रान्तिकारीका चिरन्जीवी ढकाले नेपालमा भारतको हस्तक्षेप बढ्दै जादा पनि सरकार मौन बसेको आरोप लगाए । उनले राष्ट्रिय स्वाधीनताका विषयमा कुनै सम्झौता हुन नसक्ने भन्दै सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस