संसद् अधिवेशन बोलाउन सरकारको राष्ट्रपति समक्ष सिफारिस

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, १६ : ४२
संसद् अधिवेशन बोलाउन सरकारको राष्ट्रपति समक्ष सिफारिस

काठमाडौँ । सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्ले भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो । 

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए । यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । उनीहरूसँग छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।


 

प्रतिक्रिया दिनुहोस