माडुज्किचद्वारा फुटबलबाट सन्यासको घोषणा

एजेन्सी

शनिबार, १९ भदौ २०७८, ११ : ३०
माडुज्किचद्वारा फुटबलबाट सन्यासको घोषणा

क्रोएसिया । क्रोएसियाका पूर्व खेलाडी मारियो माडुज्किचले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । रुसमा आयोजित सन् २०१८ को विश्वकपमा दोस्रो भएको क्रोएसियाको टोलीको सदस्य रहेका ३५ वर्षीय फरवार्डले आफ्नो १७ वर्षे करियरमा बायर्न म्युनिख, युभेन्टस र एथ्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेलेका थिए । 

हालै उनी इटालियन क्लब एसी मिलानसँग आबद्ध थिए । उनले चार वटा देशमा उपाधिहरू जितेका थिए भने बायर्नमा रहँदा च्याम्पियन्स लिगको उपाधि समेत हात पारेका थिए ।

शुक्रबार सामाजिक सञ्जाल इन्सटाग्राममा फुटबल बुटको फोटोसहित एक सन्देश लेख्दै सन्यासको घोषणा गरे । माडुज्किचले सन् २००४–०५ सिजनमा क्रोएसियाको मारसोनियाबाट आफ्नो सिनियर करियरको शुरुवात गरेका थिए ।

उनले आफ्नो नाम भने डाइनामो जाग्रेबबाट बनाए । तीन वर्षमा उनले त्यहाँ तीनवटा लिग उपाधि जिते । त्यसपछि वुल्फसबर्गसँग आबद्ध भएका उनी त्यहाँबाट बायर्न म्युनिख पुगे । बायर्नमा च्याम्पियन्स लिगसहित लिग उपाधि जिते । बायर्नबाट उनी एथ्लेटिको म्याड्रिड र त्यहाँबाट युभेन्टस पुगे । त्यहाँ उनले लिग उपाधि जित्न सफल भए ।

क्रोएसियाका लागि उनले ८९ खेल खेल्दै ३३ गोल गरे । सन् २०१८ को विश्वकपको सेमिफाइनलमा उनैको गोलको मद्दतले इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया फाइनलसम्म पुगेको थियो । फाइनलमा भने टोली फ्रान्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस