नियन्त्रणमा लिएका विमानमा धमाधम पूर्वपाइलट भर्ती गर्दै तालिवान

एजेन्सी

विहीबार, १७ भदौ २०७८, १२ : १३
नियन्त्रणमा लिएका विमानमा धमाधम पूर्वपाइलट भर्ती गर्दै तालिवान

एजेन्सी । अमेरिकी सेनाले अफगान भूमि छोड्नुअघि तालिवानले करोडौं डलरका विमान, हेलिकोप्टर, लडाकू विमान  नियन्त्रणमा लिएका थिए, जसलाई उडाउन अहिले लडाकूले अफगान एयर फोर्सका पूर्वचालक नियन्त्रणमा लिएका छन् । 

पछिल्लो समयमा तालिवानले देशका मुख्य दशवटा विमानस्थल नियन्त्रणमा लिएका थिए । बगरामदेखि मजर आई सरिफसम्मका विमानस्थल  नियन्त्रणमा लिएका तालिवानले एउटा ब्ल्याक हक हेलिकोप्टर र केही लडाकू विमान कब्जा गरेका थिए । अहिले ती विमान पन्जशिर उपत्यकामा तालिवानविरोधी गतिविधि दबाउन प्रयोग गरिएको छ । 

अफगानिस्तानका अधिकांश क्षेत्र नियन्त्रण लिए पनि पन्जशिर उपत्यकामा तालिवान प्रवेश गर्न सकेको छैन । अमेरिकालगायतका देशमा विमान उडानसम्बन्धी तालिम प्राप्त अफगान एयर फोर्सका चालकहरुलाई नियन्त्रणमा लिन तालिवान नेताले आफ्ना लडाकूलाई  निर्देशन दिएका छन् ।

तालिवानले कतिजना पूर्वपाइलटलाई भर्ना गरे भन्ने प्रष्ट छैन्, तर हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा रसियामा निर्मित एमआई १७ हेलिकोप्टर उडेको थियो । त्यस्तै, अर्को एक भिडियोमा ब्ल्याक  हक पन्जशिर उपत्यकाको आकाशमा उडेको देखिएको थियो । तालिवान लडाकूले त्यस्तो व्यावसायिक उडान गर्न सम्भव नभएको विज्ञहरुले बताएका छन् ।

तालिम प्राप्त चालकबिना तालिवानले कब्जामा लिएका अत्याधुनिक विमान चलाउन असम्भव भएकाले उनीहरुले व्यावसायिक चालक रोजेका हुन् । अमेरिकाले अफगान भूमि छोडेपछि उत्साहित बनेका तालिवानले मंगलबार हमिद करजाई विमानस्थल नियन्त्रणमा लिएर एक करोड ४० लाख मुल्य बराबरको हर्कुलस जेटको ककपिटमा बसेर तस्बिर खिचिरहेका देखिन्थे ।

अमेरिकी सरकारले जुनमा गरेको एक जाँचअनुसार अफगान एयर फोर्सले एक सय ६७ जेट विमान, एक सय आठ हेलिकोप्टर ५९ विमान सञ्चालन गरेको थियो । काबुल छाड्नुअघि तालिवानको कब्जाबाट जोगाउन २४ हेलिकोप्टरसहित ४६ अफगान जेट उज्वेकिस्तान उडेका थिए ।  अफगान एयर फोर्स ग्राउन्डेड भएकाले त्यहाँका पाइलट लामो समयदेखि खाली छन् । 

अमेरिकी सेनाले काबुल छोड्नुअघि ७३ वटा विमान, एक सयवटा गाडी र अन्य उपकरण छोडेर गएका थिए । तीमध्ये विमान र उपकरणलाई बिगारेर छोडेका थिए । 
अफगानिस्तानमा अमेरिकी सेनाका कमान्डर जनरल फ्रयांक म्याक केन्जीकाअनुसार अमेरिकाले काबुल छोड्नुअघि ७३ विमान काम नलाग्ने बनाएर फर्किएको थियो । ती विमान र हेलिकोप्टरबाट असंख्य बन्दुक निकालिएका तस्बिर सार्वजनिक भएका थिए ।  

अमेरिकाले छोडेका विमान चल्न नसक्ने बनाएर छोडेको बताइए पनि तिनलाई पुनः सञ्चालनमा ल्याउन सक्ने तालिवानको विश्वास छ । त्यस्तै, तालिवानले कब्जा गरेका उपकरण र विमानमध्ये अधिकांश सन् १९८० को दशकमा बनाइएका र त्यसलाई निरन्तर सर्भिस गर्नुपर्ने देखिन्छ ।

अमेरिकाले छोडेका र आफूले नियन्त्रणमा लिएका ती विमान सञ्चालन गर्न सकेमा नेटोे १० राष्ट्रका एयर फोर्सभन्दा अफगानिस्तानको एयर फोर्स बढी देखिन्छ । 

नेटोअन्तर्गतका राष्ट्रमध्ये सबभैदा बढी अर्थात् १३ हजार विमान अमेरिकासँग छ । फ्रान्स र  टर्कीसँग क्रमशः एक हजार ५७ र एक हजार ५६ छन् । 
 

प्रतिक्रिया दिनुहोस