अल्पमतमा अष्टलक्ष्मी शाक्य र भीम आचार्य नेतृत्वको सरकार, जोगाउन कसरत शुरु

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, ०८ : ५४
अल्पमतमा अष्टलक्ष्मी शाक्य र भीम आचार्य नेतृत्वको सरकार, जोगाउन कसरत शुरु

काठमाडौं । निर्णायक घडीमा माधव नेपालको साथ छोडेर केपी ओलीसँग साँठगाँठ गरेपछि बक्सिसमा मुख्यमन्त्री पाएका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बाग्मति प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा अल्पमतमा परेका छन् ।

प्रदेश १ मा १० एमाले सांसदले माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । जसकाकारण आचार्य नेतृत्वको सरकार अल्पमतमा परेका छन् । प्रदेश १ मा कम्तीमा १३ जना प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादीमा खुल्ने देखिएका छन् । उता बाग्मति प्रदेशमा अष्टलक्ष्मी शाक्यको सरकार त मंगलबारबाटै अल्पमतमा परिसकेका छन् । बाग्मति प्रदेशका १२ सांसदले मंगलबार नै निर्वाचन आयोगको हेटौडा स्थित कार्यालयमा पुगेर एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा एमालेभित्रको विवादका बेला अष्टलक्ष्मी र भीम आचार्य माधव नेपाल समुहमा थिए । दुवैले नवौं महाधिवेशनमा माधव नेपाल समुहबाट निर्वाचन जितेका थिए । अन्तिमसम्म नेपालसँगै रहेर ओली प्रवृतिका विरुद्ध संर्घष गरिरहेका मुख्यमन्त्रीद्दय भीम आचार्य र अष्टलक्ष्मी शाक्य दुवै अन्तिम समयमा नेपाल समुह छोडेर ओलीसँग मिल्न गएका थिए ।

उनीहरुले एमालेभित्रको विभाजनमा नेपाल समुहमा नेता कार्यकर्ता लाग्न नदिन निक्कै कसरथ पनि गरेका छन् । मुख्यमन्त्री जोगाउन उनीहरुले निक्कै जोरजर्वजस्ती पनि गरिरहेका छन् । तर उनीहरुको त्यो प्रयास प्रदेश सभामा सफल हुन सकेन ।

प्रदेश सभाका सांसदहरुले एमाले छोडेर माधव नेपालको पार्टी धमाधम रोज्न थालेपछि एमालेका बाँकी रहेका यी दुई मुख्यमन्त्रीको पद पनि धरापमा परेको छ । उनीहरु अब मुख्यमन्त्री जोगाउन सक्ने हैसियतमा छैनन् । प्रदेश १ मा एमालेका सांसदहरु सबै आफैमा गोलबद्ध हुने र पहिरो रोकेर सरकार टिकाउन सक्ने विश्वासको साथ मुख्यमन्त्रीमा गएका भीम आचार्यले माधव नेपाल समुहका सांसदहरुलाई एमालेमै रोक्न असफल भएपछि उनको पद धरापमा परेको हो ।

यो प्रदेशमा माधव नेपाल समुहका सांसदहरुको नेतृत्व राजेन्द्र राईले गरिरहेका छन् । विद्यार्थी संगठनका पूर्व अध्यक्ष समेत रहेका युवा नेता राईले नेपाल समुहका सांसदहरुलाई एकत्रित गर्ने काम गरिरहेका छन् । उता वाग्मति प्रदेशमा पनि २ जना सांसद मात्रै अन्यत्र दल रोज्ने वित्तिकै मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने थिए ।

तर राजेन्द्र पाण्डे सहित अष्टलक्ष्मी शाक्यकै मन्त्रिपरिषद्मा रहेका कृष्ण खनाल समेत नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोज्न पुगेपछि शाक्यको सरकार पनि धरापमा परेको हो । अब शाक्य र आचार्य दुवैले अन्य दलसँग गठबन्धन गर्ने र सत्ता जोगाउने अवस्थामा छैन् ।प्रदेश १ मा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई र बाग्मति प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीका दावेदार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस