एकै दिन ४३४.२ मिमिसम्म वर्षा

पत्रपत्रिकाबाट

शनिबार, १२ भदौ २०७८, ०८ : ०३
एकै दिन ४३४.२ मिमिसम्म वर्षा

file Photo

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहान ८ः४५ बजेदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । नवलपरासीको बतासामा २४ घण्टामा ४३४.२ मिलिमिटर वर्षा मापन भएको छ । यो वर्षा यस वर्ष मापन गरिएको दैनिक वर्षामै सबभन्दा बढी हो । 

विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार बतासा केन्द्रमा १० मिनेटमा २१ मिमिसम्म वर्षा भएको छ । १ मिनेटमा १ मिमि वर्षा हुँदा पनि भल बग्छ । ‘थोरै समयमा धेरै वर्षा भयो भने बाढी, पहिरो र डुबानको सम्भावना बढी हुन्छ,’ उनले भनिन्, ‘६० मिमि एक घण्टामा पर्नु र १२ वा ६ घण्टामा ६० मिमि वर्षा हुनुमा एक घण्टावालाले जित्छ, घातक पनि हुन्छ ।’

मौसमविद् कँडेलका अनुसार त्यति मात्रामा वर्षा भए पहाडी क्षेत्रमा भलबाढीको सम्भावना हुन्छ भने समथर भागमा डुबान भइहाल्छ । यस वर्षमा भारी वर्षाकै कारण सिन्धुपाल्चोक, गोरखा र मनाङमा भलबाढीका कारण ठूलो क्षति भएको छ ।

यो वर्षको मनसुनमा २४ घण्टामा काठमाडौं (एयरपोर्ट) मा सबभन्दा बढी ९१.४ मिमिसम्म वर्षा भएको छ । असार २७ (११ जुलाई) मा त्यति वर्षा भएको हो । असार १९ मा ६६ मिमि र ३० मा ५७.३ मिमि वर्षा भएको थियो । अहिलेसम्म काठमाडौंमा २४ घण्टामा १७७ मिमिसम्म वर्षा भएको रेकर्ड छ । सन् २००२ को जुलाई २३ मा त्यति वर्षा भएको थियो ।

२४ घण्टामा १५० मिमि वर्षाको सम्भावना भएमा विभागले त्यो क्षेत्रका लागि सतर्कताको सूचना जारी गर्छ । अध्ययनले कुनै ठाउँमा २४ घण्टामा १५० मिमि वर्षा भएमा त्यो क्षेत्रमा पहिरोको सम्भावना अत्यधिक हुने देखाएको छ । यो धेरै वटा पहिरोहरूलाई नमुना मानेर गरिएको अध्ययनको निष्कर्ष हो । कान्तिपुर दैनिकमा खबर छ ।