चुनाव

प्रचण्ड १८ हजार बढी मतले विजयी हुने

सोमबार, १८ मंसिर २०७४, १६ : ५७
प्रचण्ड १८ हजार बढी मतले विजयी हुने

चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारको अन्तिम दिनसम्म आइपुग्दा चितवनको चुनावी वातावरणले कोल्टे फेरेको छ । चितवनको क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातान्त्रिककै शीर्ष र जिल्ला नेताहरुले माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष प्रचण्डका पक्षमा मत माग्न शुरु गरेपछि प्रचण्ड भारी मतान्तरले जित्ने अवस्था देखिएको हो ।

स्थानीय निर्वाचनमा वाम र प्रजातान्त्रिक गठबन्धनको मतमा धेरै मतान्तर नभएको क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिद्वन्द्वी पाण्डे भन्दा निकै अगाडि देखिएका छन् । राष्ट्रिय स्तरको व्यक्तित्व भएको कारण प्रचण्डलाई मत हाल्न मतदातालाई राजनीतिक विचारले छेकबार लगाएको देखिँदैन । आस्था भन्दा माथि उठेर प्रचण्डलाई जिताउनुपर्ने चर्चा टोल, चोकहरुमा सुनिन्छ ।

मौन अवधि सुरु हुनभन्दा एक दिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री र बहालवाला मन्त्रीले नै सार्वजनिकरुपमा आफ्नै पार्टीका उम्मेदवार बिक्रम पाण्डेको बिरोधमा वक्तव्य थिए । बिक्र पाण्डेलाई बाँदरको संज्ञा दिँदै लामाले चितवनको समग्र विकासका लागि प्रचण्डलाई विजय गराउन आग्रह गरे । सोही पार्टीका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना यसअघि नै माओवादी पार्टी प्रवेश गरिसकेका छन् । बद्रीको प्रवेशसँगै हालसम्म करिब ३२ सय बिक्रम पाण्डेलाई छोडर माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । यसबाट बिक्रम पाण्डेलाई सबै वडा र मतदातासम्म प्रचार प्रसार गर्न समेत जनशक्तिको अभाव भएको देखिन्छ ।

चितवनका हरेक चोक र बाटोहरुमा माओवादी केन्द्र र एमालेको चुनाव चिन्ह अंकित झण्डाहरु मात्रै देखिन्छन् । वडाहरुमा खुलेका वडा कार्यालय नजिक र कांग्रेसको बाहुल्यता भएको क्षेत्रमा भने नेपाली कांग्रेस र रुखको चिन्ह अंकित भण्डाहरु देखिन्छन् । बाहिरबाट चितवन क्षेत्र नं. ३ का गाउँ बस्तीमा पुग्दा प्रचार सामग्रीहरु हेर्दा यहाँ प्रचण्ड भन्दा अरुको पनि उपस्थिति छ भन्न गारो पर्छ ।

हिजोका दिनमा लोकतन्त्रका लागि लडेका कांग्रेसका सचेत युवा र पाका कांग्रेसीहरुलाई हलोको झण्डा समातेर हिँडन मनोवैज्ञानिकरुपमा नै गारो परेको स्पष्ट देखिन्छ । पार्टीको निर्देशन मानेर संयुक्त प्रचारमा केही स्थानमा हिँडेको देखिएपनि भित्री मनदेखि नै खुलेर भने कांग्रेसका नेता तथा कार्यकर्ता हलोको प्रचारमा हिँडेका छैनन् । त्यसमा पनि बिक्रम पाण्डे र प्रचण्डको तुलना गर्दा अधिकांशका लागि कम्युनिष्ट नै भएपनि पाण्डेको तुलनामा प्रचण्ड नै देशका लागि उपयुक्त व्यक्त हो भन्ने परेको देखिन्छ । यो कुरा कांग्रेसका कतिपय नेताहरुले व्यक्तिगतरुपमा प्रचण्डलाई भेटदा बताउने गरेका छन् ।

गत शनिबार साँझ उद्योग वाणिज्य महासंघले चितवनको विकासका सम्भावनाका बारेमा अध्यक्ष प्रचण्डलाई आमन्त्रित गरेर छलफलको आयोजना गर्यो । छलफलमा प्रचण्डले चितवन र देशको विकासका लागि अघि सारेका योजनाहरुबारे प्रकास पारे । यो अन्तक्र्रियाले सांकेतिकरुपमा प्रचण्डलाई नै जिल्लाको मुख्य नेता मानेको स्पष्ट देखिन्थ्यो । कार्यक्रममा सबै दलका उद्योगी व्यवसायीहरुको उपस्थिति थियो । सबैले प्रचण्डबाट आर्थिक विकासको योजना, बजेट र कार्यान्वयनको अपेक्षा गरेका थिए ।

यो अवस्था हेर्दा प्रचण्डको पक्षमा चितवन उर्लिएको देखिन्छ । त्यसै पनि चितवन ३ मा वाम गठबन्धनको मत जोड्दा कांग्रेसको मतभन्दा ८ हजारले बढी छ । स्थानीय तहको चुनावपछि जिल्लामा ४१ हजार ३३ मत थपिएका छन् । एमाले र माओवादीबीच अन्तरघात हुने सम्भावना सकिएसँगै स्थानीय तहको आधारमा मात्रै पनि प्रचण्ड ८ हजार मतले अगाडि छन् ।

त्यसमा स्थानीय तहको निर्वाचनमा अहिले राप्रपाबाट माओवादी फर्केका बद्री तिमिल्सनाले पाएको ९ हजार मतमध्ये ५ हजार मत पाएमात्रै पनि प्रचण्ड १३ हजार मतले अगाडि हुनेछन् । कुनै पार्टीमा नलागेका, विगतमा व्यक्ति हेरेर मत दिएका र नेपाली कांग्रेसका समर्थकहरुको तर्फबाट ५ हजार मत र थपिएका नयाँ ४१ ह्जारमध्ये ५ हजार मत मात्रै पाउने हो भने प्रचण्ड २३ हजार मतले अगाडि जाने देखिन्छन् । यसरी खसेको सबै मतमा बदर, नखसेको मतलगायतका घटाउने हो भने प्रचण्ड स्पष्टरुपमा १७–१८ हजार मतले विजयी हुने निश्चित देखिन्छ ।
क्षेत्र नं. ३ को निर्णायक मानिने माडी क्षेत्रमा माओवादीले नै स्थानीय तहमा जितेका थिए । बाँदरमुढे घटनालाई तेस्र्याएर प्रचण्डका विरुद्धमा उपयोग गर्न खोजिएपनि पछिल्लो दिनमा त्यो अवस्था चिरिएको छ । आइतबार माडीको बसन्तुपर क्षेत्रमा भएको आमसभामा १५ हजार बढीको उपस्थिति रहेको थियो । बाँदरमुढे पीडितहरुका तर्फबाट समेत २९ जनाले प्रचण्डको खुला स्वागत नै गरेका थिए । यसबाट माडीमा प्रचण्डले उल्लेख्य मत पाउने निश्चित भएको छ ।
जिल्लामा ठूलो संख्यामा रहेका सुकुम्बासी, थारु, दरै र अन्य जनजातिका बीचमा माओवादी केन्द्र र एमालेको बलियो संगठन हुनु, सुकुम्बासी समस्यालाई अब बन्ने सरकारको पहिलो बैठकले सम्बोधन गर्ने प्रचण्डको घोषणा, शक्तिखोरमा औद्यौगिक क्षेत्रमार्फत रोजगारी, नदी तटबन्धलगायतका समस्या हल गर्ने, चितवनलाई विकसित र नमूना सहर बनाउने जस्ता लोकप्रिय घोषणाले प्रचण्ड निर्विवाद उम्मेदवार देखिएका हुन ।

प्रतिक्रिया दिनुहोस