अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै संसदमा एमालेले गर्यो सरकारको आलोचना

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, १४ : ०१
अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै संसदमा एमालेले गर्यो सरकारको आलोचना

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अफगानिस्तामा उत्पन्न भएको राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र आफ्ना नागरिकको उद्धारका लागि पहल नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । एउटा दक्षिण एसियाली राष्ट्रमा संकट उत्पन्न हुँदा सार्कको अध्यक्ष राष्ट्र मौन बस्नु स्वभाविक नभएको उनको टिप्पणी छ ।

संसद् बैठकमा बोल्दै बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीले आफ्नो देशमा सरकार छ भन्ने अनुभूति गर्न नपाएको बताए । उनीहरूको उद्धारका लागि सरकारबाट प्रतिबद्धतामात्र नभएर तत्काल ‘एक्सन’ मा जानुपर्ने उनले सुझाए ।

बास्कोटाले भने, ‘हामी सार्कको अध्यक्षता गरिरहेको राष्ट्र हौं । त्यसमाथि परमादेशबाट बनेको कम्फर्टेबल सरकार छ । तर, दुनियाँभर मादल बज्दा पनि यो सरकार ब्युँझिएन । उसले केही थाहा पाएन ।’

यसप्रकारको गैरजिम्मेवार र उत्तरदायी सरकारको कल्पना नगरिएको भन्दै उनले अफगानिस्ताको घटनालाई लिएर सरकारको दृष्टिकोण संसदमा सार्वजनिक हुनुपर्ने माग गरे ।

‘कुनै पनि देश यस प्रकारका वैदेशिक हस्तक्षेप कुनै पनि स्वाधीन राष्ट्रका लागि कामयाबी हुँदैनन् । त्यही देशमा बलियो राष्ट्रवादी शक्तिको निर्माण हुनुपर्छ भन्ने पाठ हो यो,’ बास्कोटाले भने ।

२०७३ सालमा अफगानिस्तानमा रहेका नेपालीमाथि हमला हुँदा तत्कालीन ओली सरकारले २४ घन्टाभित्रै उद्धार तथा राहतको काम गरेको बास्कोटाले स्मरण गराए ।‘अहिलेको कम्फर्टेबल सरकारले त्यो गर्न सक्छ कि सक्दैन ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस