नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती

पत्रपत्रिकाबाट

बुधबार, २७ साउन २०७८, ०७ : ५९
नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो ।

स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमा स्तम्भको अनुगमन भएको थिएन । डीएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी सीमा स्तम्भ अनुगमन गरी फर्किएको छ ।

नेपाल र चीनबीचको ३ नम्बर सीमा स्तम्भ सुरक्षित रूपमा रहेको उनले बताए । गाडी जाने ठाउँसम्म गाडी र त्यसपछि तीन दिन पैदल हिँडेर ३ नम्बर सीमा स्तम्भसम्म पुगेको बताउँदै उनले पाँच हजार १०८ मिटर अग्लो स्थानमा रहेको सीमा स्तम्भमा पुग्न निकै कठिन रहेको बताए ।

उनका अनुसार सीमा स्तम्भ पुग्ने क्रममा टोलीले कतै पाटन, कतै उकालो, भीरपाखा छिचोल्नु परेको थियो । टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानसम्म चढ्नुपरेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस