सेतीको कटानले डोटीका आठ गाउँ उच्च जोखिममा

रासस

मंगलबार, २६ साउन २०७८, १० : २७
सेतीको कटानले डोटीका आठ गाउँ उच्च जोखिममा

डोटी । सेती नदीले वर्षेनी कटान गर्दा डोटीका आठ गाउँ उच्च जोखिममा परेका छन् । नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए पनि कटान रोकिएको छैन ।

कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा छन् । ती क्षेत्रमा बसोबास गर्नेहरू वर्षाको समयमा राम्रोसँग सुत्नसमेत नपाएको गुनासो गर्छन् । जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय दिपायल राजपुरले नदी नियन्त्रणका लागि वर्षेनी लाखौँ रकमका तारजाली लगाउने गरेको छ । तर पनि समस्या समाधान हुन नसकेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका दीलबहादुर भण्डारीले बताए ।

सेतीको बाढीले वर्षेनी आफ्नो धार परिर्वतन गर्दै बस्ती भएर बग्न थालेका कारण जोखिम बढ्दै गएको छ । पानीको बहाव पनि निकै बढ्ने भएकाले कतिबेला बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोल्ने गरेको दिपायल सिलगढी–१ सिरखोलीसैनका स्थानीय लक्ष्मण साउद बताउँछन् । जिल्लाको शिखर नगरपालिका–१० बनलेग र ११ बारपाटामा वर्षेनी बाढीपहिरोले दुःख दिने गरेको स्थानीय बताउँछन् ।

यस वर्षको भारी वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका एक दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् । विभिन्न २२ ठाउँलाई प्रकोपको हिसाबले उच्च जोखिममा राखेर प्रतिसमुदायमा १२ जनालाई उद्धारकर्ताको तालिम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका महासचिव देवबहादुर बोहराले जानकारी दिए ।

जिल्लाको कति प्रतिशत भूभाग पहिराको उच्च जोखिममा छ भन्ने यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग छैन । जिल्लामा रहेका उच्च पहाडी तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाका आधारमा जोखिमयुक्त ठाउँ पहिचान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले जानकारी दिए ।

२०७२ साउन २३ गते भारी वर्षापछि गएको पहिरोका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँचसहित छ जनाको ज्यान गएको थियो भने सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो । यस वर्ष बाढीपहिरोका कारण साउनसम्म पाँच जनाको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस