‘डाँडापारि’मा बिरामी परे हेलिकप्टरको भर

रासस

सोमबार, २५ साउन २०७८, १५ : २९
‘डाँडापारि’मा बिरामी परे हेलिकप्टरको भर

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्वालाई गत हप्ता उपचारका लागि हेलिकप्टरमार्फत धुलिखेल अस्पताल ल्याइयो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उहाँलाई गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता बनेको हो । 

घरमा औषधि ल्याएर खाँदा शरीरलाई आराम नमिले पनि उनका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनुपरेको थियो । सुन्तामायाको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गत साल साउनमै सोही वडास्थित जगथलीको एक गर्भवती महिलाको हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो । केही दिनदेखि ब्यथाले च्यापेकी उनलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकप्टर मगाइएको थियो । “गम्भीर प्रकृतिका बिरामी पर्दा वर्षायाममा हेलिकप्टरको विकल्प छैन”, गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने ।

वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिरोले अवरुद्ध पर्दा जिल्लाको दक्षिणी क्षेत्र महाभारत पर्वत श्रृङ्खला पारीका बासिन्दाले बिरामी पर्दा हेलिकप्टरको भरपर्नु पर्ने हुन्छ । हेलिकप्टरको भाडा तिर्न नसक्नेले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता छ । डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महँगो भए पनि सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन मानिन्छ । 

गत साल साउनमै खानीखोला गाउँपालिका–६ को १७ वर्षीया किशोरीलाई उपचारार्थ अस्पताल लैजान हेलिकप्टर गाउँ पु¥याइयो । हेलिकप्टर रित्तै फर्किनुप¥यो । विडम्बना उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भयो । तीन दिनदेखि झाडापखालाले ग्रस्त रञ्जिता थोकरलाई थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले सोही बिहानै निर्णय गरे तर, उनलाई बचाउन सकिएन । त्यतिबेला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टरको व्यवस्थापनमा सहयोग गरिदिन अपिल गरेका थिए । 

मनसुन शुरु भएसँगै बाढीपहिराले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकप्टर ‘चार्टर’ गर्नुपर्ने खुलालले बताए । “पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी महिला र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा केही सहजता भएको छ”, उनले भने। 

गत वर्ष प्यारालाइसिस् रोगबाट ग्रसित महाभारत गाउँपालिका–७ का ७५ वर्षीय वृद्ध लालबहादुर लोलाई पनि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगियो । त्यतिबेला एक हप्ताका बीचमा डाँडापारि क्षेत्रबाट तीन बिरामीका लागि होलिकप्टर प्रयोग गर्नुप¥यो भने साउन पहिलो साता महाभारत गाउँपालिका–२ की २१ वर्षीया गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस