६० देशमा एनआरएनएको चुनाव हुँदा कतै लफडा कतै सर्वसम्मत चयन

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, ०७ : ३८
६० देशमा एनआरएनएको चुनाव हुँदा कतै लफडा कतै सर्वसम्मत चयन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा धमाधम राष्ट्रिय समन्वय परिषद्मको निर्वाचन भइरहेको छ।  संघका महासचिव हेमराज शर्माका अनुसार हालसम्म राष्ट्रिय समन्वय परिषद्मध्ये ६० वटामा आगामी २०२१–२३ कार्यकालको लागि  निर्वाचन सम्पन्न भएको हो । 

हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये विभिन्न कारणबस २० वटा राष्ट्रिय समन्वय परिषद लामो समय देखि निष्क्रिय रहेको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ ।

११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको उनले बताए ।  निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्य समिति गठन भएका छन् भने विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी रहेको छ ।  

शर्माका अनुसार यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । त्यसलाई छिटै समाधान गरेर निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको उनको भनाइ छ । यस्तै डेनमार्कको निर्वाचन यही ७ अगष्टमा,  पोर्चुगलमा ८ अगष्ट र  स्लोभानियामा १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको छ ।

आगामी २०२१–२३ को कार्यकालको लागि विश्वका विभिन्न मुलुकमा रहेको १ लाख भन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेको उनको भनाइ छ । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिहरुको नामावली संघको (विधानमा व्यवस्था भए बमोजिम) पठाउनु पर्नेछ । त्यसका लागि प्रक्रिया सुरु भइसकेको  बताउँदै उनले प्रतिनिधि चयन संघको विधान अनुरुप गर्नर गराउन यसअघि नै आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस