भारतबाट तस्करी गरेर ल्याउदैं गरेको ८ सय किलो माछा बरामद

पत्रपत्रिकाबाट

बुधबार, २० साउन २०७८, ०७ : ३७
भारतबाट तस्करी गरेर ल्याउदैं गरेको ८ सय किलो माछा बरामद

विराटनगर । भारतको जोगवनीबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले विराटनगरमा मंगलबार बिहान आठ सय किलोग्राम माछा बरामद गरेको छ। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ दक्षिण गेटबाट बिहान ८ बजेतिर माछा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार भाँडामा राखेर सीटी सफारीको प्रयोग गरी जलकपुर र मंगुर जातका माछा ल्याउँदै गरेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको हो। माछा तस्करीमा संलग्न एक महिलालाई पनि प्रहरीले पक्रेको छ। 

भारत अररिया जोगवनीकी ३९ वर्षीय नीलम सहनीलाई माछासहित नियन्त्रणमा लिइएको जानकारी श्रेष्ठले दिए। उनका अनुसार बरामद भएको माछासहित सहनीलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालयको जिम्मा लगाइएको छ। 

माछा नष्ट गर्दै कार्यालयले महिलालाई कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ। पक्राउ परेकी नीलम धेरै पहिलेदेखि भारतबाट नेपालतिर माछा तस्करी गर्ने धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ। उनले भारतबाट तस्करी गरेर ल्याइएका माछा यसअघि पनि बारम्बार प्रहरीले विराटनगरबाट बरामद गरिसकेको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस