उपत्यकामा चोरिएका २३ मोटरसाइकल भेटिए

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, १४ : ११
उपत्यकामा चोरिएका २३ मोटरसाइकल भेटिए

काठमाडौं । उपत्यकाबाट चोरी भएका तथा हराएका मोटरसाईकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एवं भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित गरिदिएको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न निरन्तर रूपमा बिशेष अपरेसन टोली परिचालन गरी चोरी नियन्त्रणमा उल्लेख्य सफलता हाँसिल गर्दै आएकोछ ।

आजमात्रै विभिन्न मितिमा हराएका २३ वटा मोटरसाईकल आज एक कार्यक्रमका वीच महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धीत धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन । 

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताए । उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए ।

कसरी चोरिन्छ त मोटरसाइकल ?
चालकले सुरक्षा अपनाउँदा–अपनाउँदै र सुरक्षाकर्मीले निगरानी गर्दागर्दै यतिका चोरीका मोटरसाईकलहरु कता जान्छन् ? कसरी चोरिन्छ ? तपाईको मनमा जिज्ञासा उठ्न सक्छ । ट्राफिक प्रहरीको अनुसन्धान अनुसार काठमाडौंका अस्पतालहरू, पार्टी प्यालेसहरू तथा विभिन्न स्थानमा रहेका एकान्त पार्किङमा जाने र लक तोडेर मास्टर चावी प्रयोग गर्ने वा सिधै तार जोडेर चोरी गर्ने पाइएको छ ।

यसरी चोरी गर्नुपुर्ब उक्त मोटरसाइकल र चालकको गतिबिधी निग्रानी गर्ने, मौकाको खोजि गरि उपयुक्त समयमा बिभिन्न तरिका अपनाएर चोरी गर्ने गर्दछन भने संलग्न सदस्यहरुको आ-आफ्नै भुमिका हुने गर्दछ । चोरी पश्चात वर्कसपमा गएर स्वरुप परिर्वतन गर्ने, नम्बर प्लेट फेरेर बिक्रि गर्ने तथा आफैले समेत चलाउने गरेको, पार्टसहरू खोलेर विक्रि वितरण गर्ने गरेको अनुन्धानबाट खुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

बिशेष गरि चोरी गर्ने समुहले सस्तो सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको देखिन्छ । युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढि भएकोले पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस