संक्रमित बिरामीको आँसुले पनि फैलन सक्छ कोरोना भाइरस, आँखाका डाक्टरलाई थप सतर्क रहन सल्लाह

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, ११ : २०
संक्रमित बिरामीको आँसुले पनि फैलन सक्छ कोरोना भाइरस, आँखाका डाक्टरलाई थप सतर्क रहन सल्लाह

काठमाडौं । कोरोना संक्रमित व्यक्तिको आँसुबाट पनि भाइरसको संक्रमण फैलने खतरा छ । यस्तोमा आँखाका डाक्टरलाई थप सावधान रहन सल्लाह दिइएको छ । भारतको अमृतसरको सरकारी मेडिकल कलेजले एक अनुसन्धानमा यस्तो दाबी गरेको छ । यो शोधका लागि बिरामीको आरटी–पीसीआर रिपोर्ट आउनु ४८ घण्टा भित्र आँसुको नमूना लिइएको थियो ।

अनुसन्धानका अनुसार अक्युलर मेनिफेस्टेशन भएका रोगीको आँसु कोरोना संक्रमणको सम्भावित कारण हुनसक्छ । अक्युलर मेनिफेस्टेशन त्यो लक्षण हो जसले शरीरमा देखिएको कुनै रोगका कारण आँखामा असर पार्छ ।

१२० बिरामीमा गरियो अनुसन्धानः

अमृतसरको सरकारी मेडिकल कलेजले कोरोनाका १२० बिरामीमा यो अनुसन्धान गरेको हो । रिपोर्टमा पत्ता लागे अनुसार ६० बिरामीमा आँसुमार्फत् भाइरस शरीरको अन्य हिस्सामा पुग्यो, ंजबकी ६० बिरामीमा यस्तो भएन । ४१ बिरामीमा कन्जक्टिवल हाइपरमिया, ३८ मा फोलिक्युलर रियाक्सन, ३५ मा केमोसिस, २० बिरामीमा म्युकोइड डिस्चार्ज र ११ लाई चिलाउने समस्या देखिएको थियो ।

यस्तै अक्युलर मेनिफेस्टेशन भएका लगभग ३७ प्रतिशत बिरामीमा कोरोना भाइरसको आंशिक लक्षण देखियो । अन्य ६३ प्रतिशतमा संक्रमणको गम्भीर लक्षण देखियो ।

मेडिकल कर्मचारी र डाक्टर सतर्क रहुन्ः

यो अनुसन्धान डा। प्रेमपाल कौर, डा. गौरांग सहगल, डा. शैलप्रित, केडी सिंह र भावकरण सिंहले गरेका हुन् । शोध रिपोर्टका अनुसार कोरोनाद्वारा संक्रमित बिरामीको आँसु उनीहरुको हेरविचारमा लागेका स्वास्थ्यकर्मीका लागि संक्रमणको स्रोत हुनसक्छ ।

यस्तोमा स्वास्थ्यकर्मी र आँखाका डाक्टरका लागि अत्यधिक सावधानी अपनाउन सल्लाह दिइएको छ । उनीहरुलाई विशेषगरी आँखा, नाक र मुखको परीक्षण गर्ने बेला सावधानी अपनाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस