काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक यातायात भाडादर निर्धारण ऐनको नियमावली नबनेकाले तत्कालै समायोजन गर्न नसकिने स्पष्ट गरेको छ । लामो समयदेखि भाडा समायोजन हुन नसकेको जनाउँदै यातायात व्यवसायीले समयानुकूल भाडा समायोजनको माग गरिरहेका छन् । प्रदेश सरकारले तत्काल समायोजनमा केही गर्न नसकिने जनाएको हो । नियमावली बनेपछि मात्रैे भाडासम्बन्धी काम गर्न सकिने प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिए ।
सङ्घीय सरकारले नयाँ यातायातसम्बन्धी ऐन ल्याउन सकेको छैन भने प्रदेशले सवारी यातायात व्यवस्थापन ऐन २०७५ जारी गरेको छ । सो ऐनको दफा ११० मा भाडा निर्धारण गर्नेसम्बन्धी व्यवस्था भए पनि नियमावली नभएको कारण समायोजन गर्न अप्ठ्यारो रहेको जनाइएको छ ।
यातायात नियमावली नबनेसम्म अहिलेका लागि पुरानो भाडादर यथावत् हुने प्रवक्ता सिंहले बताए । व्यवसायीले कुनै कारण देखाएर बढी भाडा लिन नहुने उनको भनाइ छ । उनले भने, “आफूखुशी बढी भाडा लिएको पाइएमा कानूनबमोजिमको कारवाही हुनेछ ।”
व्यवसायीको प्रदेश र केन्द्रीयस्तरका नेतृत्वले भाडा समायोजनको मागसहित छलफलमा आएको प्रवक्ता सिंहले बताए । अहिले नियमावलीको मस्यौदा बन्ने क्रममा रहेकाले तत्कालै केही गर्न नसकिने उनले जानकारी दिए । केन्द्रको निर्णयलाई आधार मानेर प्रदेशले भाडा समायोजन गर्नुपर्ने माग व्यवसायीको भए पनि केन्द्रको समायोजन लामो रुटको हुने र प्रदेशभित्र चल्ने सवारीसाधनको प्रदेश ऐनका आधारमा निर्णय गर्नसक्ने उनले बताए ।
तत्कालीन नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले भाडा समायोजन नहुँदा यातायात व्यवसायी मर्कामा परेको गुनासो गरे । हरेक आर्थिक वर्षमा कर वृद्धि भइरहे पनि भाडा समायोजन गर्नुप¥यो भन्दा नियमावली बनेको छैन भन्ने किसिमको सरकारको जवाफ आउने गरेको उनको भनाइ छ । पहिले रु ८० डिजेलको भाउ कायम हुँदाको भाडादर अहिले रु ११० बन्दा पनि यथावत नै भएको उहाँले जनाए ।उनले भने, “यही साउन महिनाभित्र सरकारले यस विषयमा निर्णय गर्ने आश्वासनले केही राहत महसुस भएको छ ।”
हेटौँडाका यातायात व्यवसायी श्याम श्रेष्ठले कोरोना महामारी र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले यातायात व्यवसायी समस्यामा परेको बताए । “पुरानो भाडादरमा गाडी चलाउन कठिन परेको छ ”,उनले भने, “बैंकको किस्ता तिर्नसमेत धौधौ भएको छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ साउन २०७८, १५ : ११
लेखकबाट थप