काठमाडौँ । इजरायलले इरानले एक तेल ट्यांकरमाथि आक्रमण गरेको आरोप लगाएको छ । बिहीबार अरब सागरमा भएको उक्त ट्यांकर दुर्घटनामा एक ब्रिटिस र एक रोमानियाली नागरिकको मृत्यु भएको थियो ।
लन्डनस्थित कम्पनी जोडिएक मेरिटाइमद्वारा सञ्चालित एमभी मर्सर स्ट्रिट अरब सागरको ओमानको तटनजिकै रहँदा दुर्घटनामा परेको बताइएको छ । यो कम्पनी इजरायली सिपिङ म्याग्नेट इयाल ओफरसँग सम्बन्धित रहेको बीबीसीले जनाएको छ ।
कम्पनीले दुर्घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउने प्रयास गरिरहेको बताएको छ । तर इजरायली विदेशमन्त्री येर लापिडले भने यस घटनामा इरानी चरमपन्थी समूहको हात रहेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘इरान केवल एक इजरायलका लागि मात्र समस्या होइन, त्यसैले विश्व शान्त भएर बस्न हुँदैन ।’ तर लाइबेरियाली झन्डासहितको र जापानी स्वामित्वको उक्त ट्यांकर दुर्घटनाका बारेमा विस्तृत जानकारी भने आएको छैन । त्यस्तै बीबीसीका अनुसार अहिलेसम्म इरानले इजरायलको आरोपबारे प्रतिक्रिया दिएको छैन ।
तर पछिल्लो घटनाले मध्यपूर्वमा तनाव बढ्ने संकेत देखिएको छ । केही रिपोर्टमा ड्रोनको प्रयोग गरी ट्यांकरमा आक्रमण गरिएको पनि दाबी गरिएको छ । बेलायती सरकारले भने तत्काल सत्यतथ्य बाहिर आउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १६ साउन २०७८, ११ : २१
लेखकबाट थप