काठमाडौँ । नेपाली कांग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।
कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले आज पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण सम्बन्धी प्रतिवेदन बुझाएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज भएको बैठकमा समितिका संयोजक रमेश लेखकले उक्त प्रतिवेदन पार्टी सभापति देउवालाई बुझाएका थिए ।
संयोजक लेखकका अनुसार चार लाख नौ हजार ३३ जनाको नवीकरण गरिएको छ भने चार लाख ४३ हजार ६७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको छ । क्रियाशील सदस्यता सङ्ख्यामा ७४ दशमलव २६ प्रतिशत पुरुष, २२ दशमलव ६२ प्रतिशत महिला र शून्य दशमलव शून्य दुई प्रतिशत अन्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिलो प्राप्त भएकाले त्यसलाई टुङ्ग्याउन बाँकी रहेको छ । अन्य पार्टीबाट कांग्रेसमा समायोजन भएकाका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समिति सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए ।
उक्त विवाद अब कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले टुङ्ग्याउने बताइएको छ । पार्टीका केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्यहरु आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य थिए ।
विसं २०७७ फागुन ६ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ साउन २०७८, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस