टोकियो ओलम्पिक: १४ स्वर्णसहित चीन पहिलो नम्बरमा

रासस

विहीबार, १४ साउन २०७८, १४ : १९
टोकियो ओलम्पिक: १४ स्वर्णसहित चीन पहिलो नम्बरमा

काठमाडौं । जापानको टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १४ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई उछिन्दै चीन पुनः शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

चीनले हालसम्म १४ स्वर्ण, ६ रजत र ९ कास्यसहित २९ पदक पाउँदा अमेरिका १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक जित्न सफल भएको छ । यस्तै, जापान १३ स्वर्ण, ४ रजत र ५ कास्यसहित तालिकाको तेस्रो स्थानमा छ ।

यस्तै ७ स्वर्ण, ११ रजत र ७ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहँदा अस्ट्रेलिया ७ स्वर्ण, २ रजत र ९ कास्यसहित पाँचौं स्थानमा छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन् ।

चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन् । टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रबार प्रतिस्पर्धा गनेछिन् ।

प्रतिक्रिया दिनुहोस