सरकारमा आउन आग्रह गर्दा माधव नेपालले प्रचण्डलाई के भने ?

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १४ : ५६
सरकारमा आउन आग्रह गर्दा माधव नेपालले प्रचण्डलाई के भने ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका वरिष्ठ नेता माधव नेपालकै कारण मन्त्रिमण्डल विस्तार गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री देउवाले माधव नेपाल समूहलाई सरकारमा सहभागी हुन पटकपटक आग्रह गरिरहेका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत माधव नेपाललाई सरकारमा आउन आग्रह गरिरहेका छन् । 
आफू समानको हैसियतमा जिम्मेवारी दिएर भए पनि एमालेको माधव पक्षलाई सरकारमा लैजाने प्रचण्ड लागिरहेका छन् । सत्तारुढ गठबन्धनलाई माधव नेपाल समूह सरकारमा आउनेमा ढुक्क छन् । कांग्रेस र माओवादीले माधव पक्षलाई सरकारमा ल्याउन दल विभाजनसम्बन्धी कानुन खुकुलो बनाउने वाचा पनि गरिसकेका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको संवाद जारी रहेकाले माधव नेपालले अझै सरकारमा जाने नजाने निर्णय लिन सकेका छैनन्। माधव अनिर्णित बनिदिँदा देउवाले प्रधानमन्त्री भएको दुई साता बितिसक्दा पनि क्याबिनेट विस्तार गर्न सकेका छैनन्। 
क्याबिनेट विस्तारमा अड्चन आएपछि प्रचण्ड मंगलबार बिहानै खुमलटारबाट कोटेश्वर पुगेर नेता नेपाललाई फकाउने कोसिस गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाएपछि पाँच दलीय गठबन्धन छाडेको घोषणा गरेका नेता नेपाल पछिल्लो पटक बालुवाटार प्रवेश गरेका थिए। 

एमालेको वार्ता जारी रहेको अवस्थामा पनि नेपाललाई बालुवाटार लैजान सफल भएका प्रचण्डले आज पनि कोटेश्वर पुगेर सरकारमा आउन आग्रह गरे। स्रोतका अनुसार प्रचण्डले अब सरकारमा आउन ढिला गर्न नहुने कुरा नेपाललाई सुझाएका थिए।
माधव पक्षीय स्थायी कमिटी बैठकले एमालेको एकता बचाइ राख्न ओली पक्षसँगको वार्तालाई अघि बढाउने निष्कर्ष निकालेको थियो। एमालेमै रहनुपर्ने दोस्रो तहका नेताको दबाब झेलिरहेका नेता नेपालले प्रचण्डको कुरा सुनेपछि मन्त्रिमण्डलमा जाने कि नजाने भन्ने विषयमा सल्लाह गरिरहेको जवाफ दिएका छन्। 
 

प्रतिक्रिया दिनुहोस