काठमाडौं । निर्माण शुरु भएको पाँच वर्ष बितिसक्दा पनि ललितपुरको ढोलाहिटी–लेले सडक पूरा भएको छैन । ढोलाहिटीबाट टाखेलसम्मको सडक कालोपत्र भए पनि टाखेलबाट लेले खण्डमा निर्माण बाँकी छ ।
टाखेलबाट टीकाभैरबसम्म जङ्गल क्षेत्रमा मापदण्डानुसार सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको काठमाडौँ चक्रपथ विस्तार आयोजनाले जनाएको छ । सो क्षेत्रमा अहिले भित्तामा ‘कटिङ’ र ग्राभेलसम्मको काम गर्न लागिएको आयोजना प्रमुख गुरु अधिकारीले बताए । उनका अनुसार अहिले सडकमा नाली बनाउने काम भइरहेको छ । उनले भने, “वर्षाको समयमा कालोपत्र गर्न नसकिए पनि अरू सकिने काम भइरहेको छ ।”
वर्षाको समयमा सडक कालोपत्र गर्न नसकिने हुँदा भदौ १५ पछि वर्षा कम भएपछि काम गर्न सकिने उनले जानकारी दिए । निर्माण शुरु भएको लामो समयसम्म पनि स्थानीयवासीको अवरोधका कारण निर्माण शुरु हुन नसकेकामा दुई वर्ष पहिलेदेखि कोभिडका कारण सडक निर्माणमा असर पुगेको छ । अहिले जङ्गल क्षेत्रमा र लेले क्षेत्रमा विस्तारको काम भइरहेको उनले बताए।
आयोजनाले पहिले एक लेन मात्रै चौडाइ रहेको सडक २० मिटरमा विस्तार गर्ने गरी शुरु गरेको थियो । साँघुरा बस्ती भएका सुनाकोठी, ठेचो, चापागाउँलगायतका स्थानमा पहिलेभन्दा खासै चौडाइ बढ्न नसकेको आयोजनाले जनाएको छ । झण्डै छ किमी सडकमध्ये आधा सडक मापदण्डानुसार र आधामा मापदण्डभन्दा कम चौडाइमा कालोपत्र हुन लागेको प्रमुख अधिकारीले बताए । उनले भने, “खाली जग्गा भएका ठाउँमा मापदण्डानुसार भए पनि बस्तीमा त्यो कायम हुन सकेको छैन ।”
टाखेलबाट टीकाभैरब जङ्गल क्षेत्रमा दुई किमी लम्बाइमा सडक २० मिटर चौडाइ कायम भएको छ । यो क्षेत्रमा पैदलयात्रु मार्ग, पानी जाने ढललगायतका संरचना पनि बनाउन पर्याप्त जमीन भएको देख्न सकिन्छ । त्यसभन्दा अघि पिआइए चोकबाट सरस्वती कुण्डसम्म झण्डै छ सय मिटर पनि २० मिटर चौडाइ कायम भएको छ । पिआइए चोकबाट लेलेतर्फ अघि बढ्दा भने खण्डखण्डमा मात्रै मापदण्डानुसार चौडाइ छ । पुराना घरहरु भएका ठाउँमा निर्माणस्थल खाली नभएकाले उपलब्ध चौडाइमा निर्माण शुरु गर्न लागिएको छ । उनले भने, “झण्डै तीन किमी सडक मात्रै मापदण्डानुसार गर्न सकिएको छ ।”
सडक विभागले बीस मिटर सडक कालोपत्र गर्ने गरी आव २०७३÷७४ मा ठेक्का सम्झौता गरेको थियो । अहिले त्योभन्दा केही कम त केहीमा आधाभन्दा कम चौडाइका सडक कालोपत्र भइरहेको देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १२ साउन २०७८, १४ : ४०
लेखकबाट थप