एउटै औषधिको २५ करोड

पत्रपत्रिकाबाट

आइतबार, १० साउन २०७८, ०८ : २१
एउटै औषधिको २५ करोड

काठमाडौँ । एउटै औषधि कतिसम्म महँगो होला ? सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर (२५ करोड २८ लाख रुपैयाँभन्दा बढी) पर्छ। स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) रोगका लागि यो दिइन्छ । 

भैरहवाकी २२ महिने सियोना श्रेष्ठ उक्त औषधिबाट उपचाररत छिन् । यी सानी नानीको महँगो उपचार यति बेला सामाजिक सञ्जालमा चर्चामा छ। एलिना गुरुङ श्रेष्ठ र डा. सन्दिप श्रेष्ठकी छोरी एलिनाको दुबईमा उपचार भइरहेको छ । 

सियोनालाई ५ महिना हुँदादेखि नै एसएमए रोगको लक्षण देखिएको थियो । यो रोग विश्वकै दुर्लभ एवं महँगो मेरुदण्डसम्बन्धी रोग हो । सियोनाका अभिभावकले करिब १० महिनादेखि उनको विभिन्न देशमा उपचार गराइरहेका छन् । गत असार ३१ गते उनलाई दुबईको एक अस्पतालमा जोल्जेन्स्मा नामक महँगो औषधि दिइएको हो ।

सियोनामा मावलका हजुरबुवा पूर्ण गुरुङका अनुसार औषधि दिइएपछि उनको शरीरमा सेतो रक्तकोषको कमी देखिएको छ । उनलाई आईसीयूमा राखिएको छ । महत्वपूर्ण औषधि प्रयोग गरिएका कारण उनलाई केही साइड इफेक्ट देखिएको तर नियन्त्रण आउन सम्भ हुने चिकित्सकहरूलाई परिवारलाई अवगत गराएका छन् । सियोनाको स्वास्थ्य सामान्य अवस्थामा आउन केही दिन लाग्ने डाक्टरहरूको भनाइलाई उधृ्रत गर्दै गुरुङले जानकारी दिए । 

उनका अनुसार सियोना जन्मदा सामान्य अवस्थामा थिइन् । ५ महिना पुग्दासम्म उनले टाउको उठाउने, यताउता गर्ने जस्ता व्यवहार देखाइनन् । जहाँ सुतायो त्यहीँ सुतिरहने र यताउता फर्कन पनि नसक्ने जस्ता लक्षण थिए । सियोनाका बाबु सन्दीप बालरोग विशेषज्ञ हुन्। उनले छोरीको यस्तो समस्याबारे निकै अनुसन्धान गरे । अन्नपूर्ण पोस्टमा खबर छ ।