एमाले बैठक : ४ प्रस्ताव पारित, फैसलाविरुद्ध जनतामा जाने

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, २० : ३३
एमाले बैठक : ४ प्रस्ताव पारित, फैसलाविरुद्ध जनतामा जाने

काठमाडौं । नेकपा एमालेले विभिन्न ४ प्रस्ताव पारित गरेको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा सहित चार प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । 

जसअनुसार पहिलो प्रस्तावको रुपमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ । जसमा  फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्याएकोलगायतको ठहर एमालेको छ । 

यस्तै ४१ महिने ओली सरकारको समीक्षा गर्दै सरकारले ऐतिहासिक काम गरेको ठहर गर्दै त्यसबारे दोस्रो प्रस्ताव बैठकले पारित गरेको छ । विभिन्न प्रतिकुलताबीच पनि संघीयतालाई कार्यान्वयन गरेको, नयाँ नक्सा प्रकाशन गरेको, पृथकतावादको अन्त्य गरेको, अशान्ति मच्चाउने शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको, कोभिडका बीच पनि खोप सुनिश्चित गरेको ठहर एमालेको छ । 

यस्तै अब पार्टीले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यस्तै सिंगो पार्टी पंक्तिलाई अहिलेको प्रतिकुल अवस्थाबाट निराश नहुन आग्रह कमब्याक गर्न सक्ने गरी लाग्न आह्वान गर्ने चौथो प्रस्ताव पनि बैठकले पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस