बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोभिड–१९ बिरूद्धको खोप दिइयो

एजेन्सी

मंगलबार, ०५ साउन २०७८, २१ : ५५
बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोभिड–१९ बिरूद्धको खोप दिइयो

काठमाडौं । चीनको राजधानी बेइजिङमा १८ बर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ बिरूद्धको दुबै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् । 

प्राप्त जानकारी अनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो सङ्ख्या बेइजिङको बयस्क नागरिकको जनसङ्ख्याको ९०.६ प्रतिशत हो । 

नगरपालिका प्रशासनले भनेको छ, “चिनियाँ राजधानीमा जन–खोप अभियान अन्तर्गत कोभिड–१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ । यो सङ्ख्या वयस्क सङ्ख्याको ९५.६  हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ । 

बेइजिङमा मङ्गलबारदेखि १२ बर्षदेखि १७ बर्ष उमेर समूह (नाबालिग) लाई कोभिड–१९ बिरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ ।