प्रचण्डले कांग्रेस नेतासँग सोधे : बुबा, सँगै बसेको फोटो फेसबुकमा राखौं ?

आइतबार, १७ मंसिर २०७४, १३ : ४५
प्रचण्डले कांग्रेस नेतासँग सोधे : बुबा, सँगै बसेको फोटो फेसबुकमा राखौं ?

 ‘बुबा, तपाईंसँग बसेको फोटो फेसबुकमा हाल्दा कस्तो होलारु तपाईंलाई अप्ठेरो त पर्दैनरु’ भेटघाटका लागि चितवनको शिवनगर, लाहुरेचोकस्थित आफ्नै निवासमा शुक्रबार विहान आइपुगेका चितवन कांग्रेसका नेता कृष्णलाल सापकोटासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोधे।

‘लौ, किन हाल्न नहुने, तपाईं मेरो छोरो जस्तो मान्छे’ कृष्णलालले प्रचण्डलाई जवाफ दिए, ‘म तपाईंको अविभावक जस्तै मान्छे हुँ । तपाईंको बुबा र म पहिल्यैदेखिको साथी । अनि, हामी सँगै बसेको फोटो फेसबुकमा हाल्न किन नहुने? लगत्तै प्रचण्डको सचिवालयले सापकोटासँगै बसेको प्रचण्डको तस्वीर फेसबुकबाट सार्वजनिक गर्‍यो।

भेटलगत्तै सापकोटाको अनुमति लिएरै फेसबुकबाट सार्वजनिक गरिएका दुई तस्वीरसँगै प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले लेखेका छन्, ‘अध्यक्ष प्रचण्डका अविभावक, राजनीतिक गुरु एवं नेपाली कांग्रेस चितवनका नेता कृष्णलाल सापकोटा र गोपाल सापकोटा प्रचण्ड निवास लाहुरेचोक भरतपुरमा।’

चितवन कांग्रेसका पूर्व सभापति समेत रहेका कृष्णलाल सापकोटा जिल्ला विकास समितिका पूर्व सभापति ९२०४९–०५४० हुन् भने गोपाल सापकोटा पनि नेपाली कांग्रेस बाग्लुङका पूर्व सभापतिका अलावा जिल्ला विकास समितिका पूर्व सभापति ९२०४९–०५४० नै हुन्। यसबाहेक गोपाल प्रचण्डका मीत समेत हुन्।

पाटन संयुक्त क्याम्पसमा आइ.ए. पढ्दा भेट भएपछि प्रचण्ड र गोपाल ‘रुम पार्टनर’ समेत थिए । जब क्याम्पस जीवन सकिएर छुट्टिने बेला आयो, प्रचण्ड र गोपालले मित लगाए। समयक्रममा प्रचण्ड वामपन्थी राजनीतिमा लागे, गोपाल सापकोटा कांग्रेसी राजनीतिमा। अहिले गोपाल पूर्णत राजनीति छाडेर धार्मिक–सामाजिक कृयाकलापमा छन् ।

मीत प्रचण्ड चितवन–३ बाट उम्मेदवार बनेपछि व्यक्तिगत तबरमा प्रचण्डलाई सहयोग गर्न गोपालपनि चितवन झरेका छन् । र, त्यसैक्रममा उनले कृष्णलाल र प्रचण्डबीच भेटघाटको तारतम्य मिलाएका हुन् । किनभने, प्रचण्डले ठानिरहेका छन्, कम्तिमा कृष्णलालको सहयोग पाउने हो भने चितवन–३ मा आफ्नो विजय धेरै अर्थमा महत्वपूर्ण हुनेछ ।

कृष्णलाल चितवन कांग्रेसका तिनै नेता हुन्, जसले स्थानीय निर्वाचनका बेला कांग्रेस–माओवादी केन्द्रबीचको तालमेलको विरोधको नेतृत्व गरेका थिए। कांग्रेससँगको तालमेलका बाबजुद माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले निकै कठिनरुपमा मात्र जित निकाल्न सक्नुको कारण सापकोटाको समूहको विरोध थियो।

चितवन–३ मा प्रतिस्पर्धा गरिरहेका प्रचण्डका मुख्य प्रतिस्पर्धी हुन्, राप्रपा ९प्रजातान्त्रिक० का महामन्त्री तथा वनमन्त्री बिक्रम पाण्डे। स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रबीचको तालमेलप्रति जस्तै राप्रपासँगगको तालमेलप्रति पनि कांग्रेस नेता सापकोटा सन्तुष्ट देखिन्नन्।

राप्रपासँगको तालमेलप्रति असन्तुष्ट कांग्रेसजनको समेत समर्थन हासिल गरेर पाण्डेसँगको मतान्तरलाई अझ फराकिलो बनाउन चाहन्छन् प्रचण्ड । शुक्रबार विहान नेता सापकोटा प्रचण्ड निवास पुगेर प्रचण्डलाई छोरा र आफूलाई उनको अविभावक भनेपछि त्यसलाई प्रचण्डले पक्कैपनि आफूप्रतिको समर्थनका रुपमा लिएका छन्।

आफ्नो नातेदारसमेत रहेका कांग्रेस नेता सापकोटालाई लिएर प्रचण्ड निवास पुगेका गोपाल सापकोटापनि प्रचण्डको बुझाईलाई अन्यथा ठान्दैनन् । सापकोटाले भने, ‘भेटघाटको फोटो सार्वजनिक गर्न दिनु भएको सहमतिले पनि चुनावमा उहाँ (कृष्णलाल) को सहयोग कसलाई हुन्छ भन्ने प्रष्ट हुन्छ। यति कुरा मीतज्यूजस्तो राजनीतिज्ञले सहजै बुझिहाल्नु हुन्छ नि !’

खासमा प्रचण्ड र कांग्रेस नेता सापकोटा दुबै चितवन शिवनगरवासी हुन् भने सापकोटा र प्रचण्डका स्वर्गीय पिता मुक्तिराम दाहाल साथी थिए । पञ्चायतकालमा जव सापकोटा शिवनगर गाउँ पञ्चायतको प्रधानपञ्चका प्रत्यासी थिए, मुक्तिरामले सापकोटालाई सहयोग समेत गरेका थिए । प्रचण्डले सापकोटालाई बुबा भन्नु र सापकोटाले पनि उनलाई छोरा मान्नुको कारण यही थियो ।

प्रतिक्रिया दिनुहोस